स्वदेशमै मोबाइल फोन एसेम्बल गरेर विदेशी मुद्रा बचाउन सकिन्छ -सञ्चारमन्त्री शर्मा

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
स्वदेशमै मोबाइल फोन एसेम्बल गरेर विदेशी मुद्रा बचाउन सकिन्छ -सञ्चारमन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशभित्रै फोनहरु एसेम्बल गर्ने वातावरण बनाउन आग्रह गरेकी छन्।

मन्त्री शर्माले नेपाल मोबाईल व्यवसायी महासंघको आज ललितपुरमा आयोजित दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपालको मुद्रा बाहिर जानबाट रोक्नको लागि पनि देशभित्र मोबाइल एसेम्बल गर्न शुरु गर्नुपर्ने बताईन्।

“एसेम्बल गरेर राजस्व बढाउनुपर्दछ र नेपालबाट विदेशी मुद्रा बाहिरिने क्रम रोक्नुपर्दछ,” संचार मन्त्री शर्माले भनिन्।

उनले यसले गर्दा देशभित्रै सस्तो मूल्यमा फोन उपलब्ध हुने र त्यस्ता सस्ता फोनहरु कम आय भएका व्यक्तिहरुको लागि उपयोगी हुने बताईन्।

यसका साथै उनले पुराना फोनहरुको पार्टपुर्जा समेत उपयोग गरेर त्यसबाट सस्तो फोन उत्पादन गर्न आग्रह गरिन्।

सञ्चार मन्त्री शर्माले ई वेष्टको व्यवस्थापनमा सरकारले ध्यान दिँदै गरेको भन्दै नयाँ इवेस्ट नीतिमा छलफल हुँदै गरेको बताईन्।

उनले एसेम्बल इवेष्टको लागि सरकार तयार भएको भन्दै कम्पनी स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताईन्।

उनले अहिलेकाे अवस्थामा मोबाइल फोनको उपयोग भन्दा दूरुपयोग बढिरहेको भन्दै विशेषगरी किशोरकिशोरीमाझ कन्टेन्टको सदुपयोग नभएको उल्लेख गरिन्।

“मोबाइल फोनको प्रयोग भनेको फेसबुक मात्र चलाउने होईन्। यसलाई विकास र उन्नतिको लागि प्रयोग गर्नुपर्छ,” उनले भनिन्, “हाम्रा किशोर किशोरीहरुलाई सहिरुपमा प्रयोगको लागि शिक्षा दिनुपर्ने भएको छ। फोनको गलत प्रयोगले गर्दा उनीहरुले सुसाइड गर्दैछन्।”

मन्त्री शर्माले फेसलेस सरकारी सेवाको लागि सूचना प्रविधिको प्रयोग बढिरहेको भन्दै यसले बिचौलियालाई हटाउन सकिने बताईन्।

कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईले पुराना र सेकेण्ड ह्याण्ड फोन बिक्री र प्रयोगको नीति बनाउनुपर्ने माग गरे। उनले पुराना फोनहरुलाई समेत मर्मत गरेर बेच्न सकिने भएपनि हाल व्यवसायीले त्यस्ता फोन किन्दा चोरीको आरोप भोगिरहेको भन्दै त्यसमा ध्यानाकर्षण गराएका थिए।

उनले मोबाइल फोनमा देखिएको सिण्डिकेट हटाउन माग गर्दै मोबाइल टेक्निसियनहरुको उत्पादन गराउन सहकार्य गरिने बताए।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...