
काठमाडौं ।
कार्डमार्फत हुने कारोवारको सुरक्षा र तत्सम्बन्धी विकास भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा नेप्स चयन भएको छ।
पेमेन्ट कार्ड इन्डस्ट्रि सेक्यूरिटी स्ट्याण्डर्डस काउन्सिल (पीसीआई एसएससी) (Payment Card Industry Security Standards Council (PCI SSC) कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो। भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डीएसएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन्।
सोही पीसीआई एसएससीको सल्लाहकार समितिमा नेप्स चयन भएको हो।
सदस्य संस्थाहरुले कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व पनि गर्ने बताईएको छ।
नेप्सकाअनुसार सल्लाहकार समितिको सन् २०२३-२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। फलस्वरूप २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो।
मनोनित भएसँगै, नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, पेपाल, जेपी मोर्गन, माइक्रोसफ्ट, आईबीएमलगायतका अन्तराष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान-प्रदान गर्ने बताईएको छ।
“यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ। साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लियका छौँ,” प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले भने।
यसअघिनै नेप्स नेपालबाट पीसीआई एसएससीको एसोसिएट पार्टिसिपेटिङ्ग अर्गनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो। अहिले सल्लाहकार समितिमै चयन भएर सिङ्गो नेपाललाई नै कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरु निर्धारण गर्ने अन्तराष्टिय समितिमा सम्पूर्ण नेपाललाईनै प्रतिनिधित्व गर्ने अवसर नेप्सले सिङ्गो राष्ट्रलाईनै प्रदान गरेको दाबी गरेको छ।
साथै, यसले नेप्सको कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि व्यवस्थालाई समयनुसार परिमार्जन गरि सुरक्षित कारोवार संचालनको यकिन गर्न टेवा पुग्ने र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुने जनाएको छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार