
काठमाडौं ।
कावासाकीले जापानको घरेलु बजारमा नोस्लिसु इलेक्ट्रिक कार्गो बाइक लन्च गरेको छ। नयाँ बाइकले इफिसियन्ट कार्गो–बाइकका लागि कावासाकीको टिल्टिङ थ्री–व्हीलर प्रविधि प्रयोग गरेको उल्लेख छ।
कावासाकी नोस्लिसु जापानी मोटरसाइकल निर्माताको कार्गो थ्री–व्हीलर खण्डमा पहिलो पटक प्रवेश गरेको हो। साथै यो स्टाइलिश, उपयोगिता केन्द्रित कार्गो ई–बाइक तीन संस्करणहरूमा उपलब्ध रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
कावासाकी नोस्लिसुको पहिलो संस्करण थ्री–व्हील्ड पेडल–एसिस्ट (तीन पाङ्ग्रे पेडल–सहायक) बाईसाइकल भएको र सवारको लागि यसलाई लाइसेन्स आवश्यक नपर्ने बताइएको छ। साथै यसमा १८० वाटको रियर हब मोटर र सुविधाजनक फ्रन्ट कार्गो बास्केट पनि रहेकोछ। कार्गो ई–बाइकको डिजाइनले पेडल– असिस्टेड राईडिङ्गलाई अनुमति दिने र एक पटको सिङ्गल चार्जमा ३० माइलसम्मको रेञ्ज प्रदान गर्ने बताइएको छ। कावासाकी नोस्लिसुको पहिलो संस्करणको मूल्य ३६३,००० जापानीज येन (२,५९२ अमेरिकी डलर) रहेको छ।
यस ई–बाइकले किफायती, व्यावहारिक, र इफिसियन्ट कार्गो–क्यारिङ्ग क्षमताहरू प्रदान गर्ने उल्लेख गरिएको छ। कावासाकीले दैनिक आवागमनका क्रममा एउटा सानो कारले जस्तै यस ई–बाइकले पनि फाइदाहरू प्रदान गर्ने बताएको छ।
त्यसैगरी नयाँ ई–बाइकको दोस्रो संस्करण नोस्लिसु-ई रहेको उल्लेख छ। यो दोस्रो संस्करण नोस्लिसु-ई अधिक शक्तिका साथ आउने र सञ्चालन गर्नको लागि लाइसेन्सको आवश्यकता पर्ने बताइएको छ। यसमा परिष्कृत पेडल सहायताको साथ ५०० वाटको रियर हब मोटर रहेको उल्लेख छ। साथै यसले स्ट्याण्डर्ड संस्करणको रूपमा सिङ्गल चार्जमा ३० माइल रेञ्ज प्रदान गर्नेछ। नोस्लिसु ई कार्गो ई–बाइकको जापानमा मूल्य ४,३१,१०० येन (३,०७८ अमेरिकी डलर) पर्ने उल्लेख गरिएको छ।
त्यसै गरी तेस्रो मोडल, नोस्लिसु कार्गो विशेष गरी युटिलिटी ई–बाइकको रूपमा डिजाइन गरिएको बताइएको छ। यसमा १८० वाट रियर हब मोटर समावेश गरिएको र यसलाई प्रयोग गर्नको लागि लाइसेन्सको आवश्यकता नर्पने उल्लेख गरिएको छ। नोस्लिसु कार्गोको मूल्य ४, १४,७०० येन (२,९६१ अमेरिकी डलर) पर्ने उल्लेख गरिएको छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार