
काठमाडौं ।
भारतीय सरकारी दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले चाँडै आफ्नो फोरजी सेवा सुरु गर्ने भएको छ। यससँगै सीमावर्ती क्षेत्रका जनताले पनि मोबाइल र डाटा कनेक्टिभिटी पाउने बताईएको छ। कम्पनीले २० हजार फोरजी टावर जडान गर्ने काम सुरु गरेको छ र यसमध्ये केहि नेपालका सीमावर्तीमा समेत राखिने संभावना रहेको छ।
भारतको केन्द्र सरकारले दुर्गम क्षेत्रमा मोबाइल जडान पुर्याउने जिम्मेवारी कम्पनीलाई दिएको छ ।
सरकारी अधिकारीलाई उद्धृत गर्दै एक भारतीय मिडिया रिपोर्टले भन्यो, “बीएसएनएलले काम सुरु गरिसकेको छ। फोरजी नेटवर्क लगभग २५ हजार गाउँहरूमा विस्तार गरिनेछ। तीमध्ये धेरैसँग कनेक्सन छैन।”
यो आयोजना गत वर्षको साउनमा केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । यसका लागि सरकारले विश्वव्यापी सेवा दायित्व कोषबाट २६ हजार ३१६ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्का एक अधिकारीले भने, “सरकारले देशभर ४जी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसमा सीमावर्ती क्षेत्रहरू पनि समावेश हुनेछन्। कतिपय राज्यहरूमा हाल कठिन स्थानका कारण टावरको संख्या कम छ।”
मार्चमा समाप्त भएको आर्थिक वर्षमा बीएसएनएलको घाटा ८,१६१ करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ६,९८२ करोड भारु थियो। कम्पनीको घाटा बढ्नुको प्रमुख कारण समायोजन कूल राजस्व (एजीआर) सरकारलाई तिर्नुपर्ने व्यवस्था नै हो। तर, कम्पनीको आम्दानी करिब १४ प्रतिशतले मात्र बढेको छ।
कम्पनीको आम्दानीमा मोबाइल सेवाको हिस्सा २९ प्रतिशत रहेको छ। सरकारले चालू आर्थिक वर्षको लागि बीएसएनएललाई २०,००० करोड भारतीय रुपैयाँको लक्ष्य दिएको छ।
कम्पनीले तीन महिनाको परीक्षणपछि २ सय साइटसहित फोरजी नेटवर्क सुरु गर्ने तयारी गरेको छ। कम्पनीले चाँडै आफ्नो सञ्जाल प्रति दिन औसत २०० साइटहरूमा बढाउन सक्छ। बीएसएनएलले टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस) र आईटीआई लिमिटेडलाई लगभग १.२३ लाख साइटहरूमा फोरजी नेटवर्क ल्याउनका लागि १९ करोड भारु भन्दा बढीको अर्डर गरेको छ।
समाचारअनुसार परियोजनाले कनेक्टिभिटीविहीन २४,६८० गाउँहरू समेट्नेछ, जसमा १६,४६३ टावरहरू आवश्यक हुनेछ। यी राज्यहरूमा बीएसएनएलद्वारा स्थापित, सञ्चालन र मर्मत गरिनेछ, जसमध्ये धेरै उत्तर पूर्व क्षेत्रका साथै टावरको घनत्व कम भएका क्षेत्रहरूमा पर्ने सम्भावना छ।
कम्पनीले करिब २९ हजार भन्दा बढी गाउँहरू समेट्ने कुल १९ हजार ७०० टावरहरू लगाउने बताईएको छ।
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार