महानगरका १४ ओटा विद्यालयमा कोड क्लव गठन, उपप्रमुख डंगोलबाट शितला माविमा शुभारम्भ

  • Technology Khabar | २० जेष्ठ २०८०, शनिबार
महानगरका १४ ओटा विद्यालयमा कोड क्लव गठन, उपप्रमुख डंगोलबाट शितला माविमा शुभारम्भ

काठमाडौं ।

शितला माध्यमिक विद्यालय, बोहोराटार, (काठमाडौँ महानगरपालिका वडा नं. १६) मा कोड क्लव गठन भएको छ। बुक फ्रि फ्राइडे कार्यक्रम निरीक्षणका लागि विद्यालय पुगेकी महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्लव शुभारम्भ गरिन्।

क्लबका विद्यार्थीहरू खेल मैदानमा फुटबल खेले जसरी, बास्केटबल र टेवुलटेनिस खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउँछन्। कोडिङ गर्छन। एनिमेसन गर्छन्। साधारण खालका प्रोग्रामिङ गर्छन्।

यसको आधार स्क्याच कोडिङ् हो। यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ। यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ।

कोड क्लब अहिले महानगरका १४ ओटा सामुदायिक विद्यालयमा सुरु भइसकेको छन्। यसलाई बिस्तार गरेर सबै सामुदायिक विद्यालयमा गठन गर्ने योजना छ।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ। यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ४ देखि ९ सम्मका हुन्। क्लबका क्रियाकलापमा सम्लग्न बालबालिकामा शैक्षिक तथा सोच विकास र आलोचनात्मक विचार निर्माणमा सघाउ पुग्नेछ। सञ्चालित कार्यक्रमको नतिजाका विषयमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को धारणा छ।

क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेबसाइट निर्माण गर्न सक्छन्। यसबाट विद्यालयको परिचय विश्व सामु पुग्नेछ।

अहिले सामुदायिक विद्यालयका शिक्षकहरूमा डिजिटल साक्षरता बढेको छ। यस्तै गुगल वर्क स्पेसमा शैक्षिक क्रियाकलाप तथा शिक्षण सिकाइ प्रक्रिया थालिएका छन्।

शितलासहित अहिलेसम्म १४ ओटा सामुदायिक विद्यालयमा कोड क्लव गठन भइसकेको छ।

निरीक्षणपछि उपप्रमुख डंगोलले, प्रतिस्पर्धी जमानाका लागि व्यवहारिक शिक्षाको आवश्यकता पूरा गराउन नयाँ सिकाइ पद्धति कार्यान्वयनमा ल्याइएको बताईन्। “बालबालिकालाई किताबमा सीमित गराइयो भने विद्यार्थीहरुलाई शिक्षाको वृहत्तर आकृति देखाउन सकिँदैन। यसबाट बाहिर आउन बुक फ्रि फ्राइडे लाभदायी हुनेछ,” उपप्रमुखले भनिन्।

कार्यक्रम सञ्चालनपछि प्राप्त प्रतिक्रियाबाट महानगर कार्यक्रमको नियमितताका लागि उत्साहित भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ।

शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार आउँदो शुक्रबारभित्र सिपमुलक कार्यक्रम सञ्चालन भएका सबै विद्यालयको निरीक्षण गरिसक्ने योजना रहेको छ।

प्रकाशित: २० जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार