नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापे बीच समझदारी

  • Technology Khabar | १९ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

नेपालको भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क, लंकापेसँग समझदारी ‍पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ।

यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने बताईएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुने बताईएको छ। श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन्।

त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन्। यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउने छ। यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ। हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं।”

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले भने, “हामी फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौं। यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको छ। यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौँ जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।”

ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डि. श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गर्दै श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्तरूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्याउने दीर्घकालीन रणनीतिको हिस्सा भएको बताए।

फोनपेका अध्यक्ष विश्वास ढकालले भने, “श्रीलंका नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनलाई महत्वपूर्ण कोशेढुङ्गा साबित हुनेछ।”

प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया