काठमाडौं ।
एप्पल विश्वको सबैभन्दा ठूलो टेक कम्पनीको रुपमा रहेको छ। सन् २०२२ मा एप्पलले ३९४.३ बिलियन अमेरिकी डलर कमाइ गरेको छ। कम्पनीले प्राप्त गरको ९९.८ बिलियन अमेरिकी डलरको नाफा गरेको छ।
विश्व अर्थतन्त्रमा एप्पलको योगदान महत्वपूर्ण छ। विश्वभरका लाखौं विकासकर्ताहरुले आफ्नो उत्पादन बिक्री गर्न र थप ग्राहकहरुसम्म पुग्न एपको सेवा जस्तै एप स्टोर प्रयोग गर्छन्।
२०२२ मा एप स्टोर विकासकर्ताहरुले कुल बिलिङ र बिक्रीबाट १.१ ट्रिलियन अमेरिकी डलर उत्पन्न गरेका छन्। एप्पलले जारी गरेको २०२२ को आफ्नो एप इकोसिस्टमको वित्तीय कार्यसम्पादनको रिपोर्टमा देखिन्छ।
एप स्टोरको आम्दानी नेपाललगायतका ५२ देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पनि धेरै भएको रिपोर्टमा उल्लेख छ।
चालु आर्थिक वर्षमा नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।
एप स्टोरले कुल बिलिङ र बिक्रीबाट १.१ ट्रिलियन अमेरिकी डलर उत्पन्न गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढेको रिपोर्टमा देखिने गिज्मोचाइनाले उल्लेख गरेको छ।
यस राजश्वको ९० प्रतिशत एप्पलको कमिशनको अधीनमा थिएन। एप्पलले एप स्टोर मार्फत इन–एप खरिदहरू र सःशुल्क डाउनलोडहरूमा १५ देखि ३० प्रतिशतसम्म कमिसन लिन्छ।
१.१ ट्रिलियनको आम्दानी मध्ये भोतिक सामान र सेवाहरको बिक्रीबाट ९१० बिलियन अमेरिकी डलर, इन एप विज्ञापनबाट १०९ बिलियन अमेरिकी डलर र १०४ बिलियन अमेरिकी डलर डिजिटल सामान र सेवाहरुबाट उत्पन्न भएको छ।
एप्पलका अनुसार, २००८ देखि २०२२ सम्म, आईओएस एप विकासकर्ताहरूले एप स्टोरमा सामूहिक रूपमा ३२० बिलियन अमेरिकी डलर भन्दा बढी कमाएका छन्, जुन २०२१ मा रिपोर्ट गरिएको २६० बिलियन अमेरिकी डलरको तुलनामा उल्लेख्य वृद्धि हो।
प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार