विद्युत प्राधिकरणले अनलाइनबाट २४ सै घण्टा महशुल तिर्न सकिने सिस्टम बनाउँदै

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
विद्युत प्राधिकरणले अनलाइनबाट २४ सै घण्टा महशुल तिर्न सकिने सिस्टम बनाउँदै

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले अनलाइनमार्फत आफ्नो सेवाको शुल्क भुक्तानीलाई २४ सै घण्टा तिर्न सकिने बनाउने भएको छ।

हाल विद्युतको महशुल तिर्नका लागि ग्राहकहरुले कार्यालय समयमा मात्र अनलाइनमार्फत तिर्न सकिने व्यवस्था रहेको छ। जुन प्रणालीमा लामो समयदेखि गुनासो रहँदै आएको छ।

यसैबीच नेपाल विद्युत प्राधिकरणले आफ्नो अनलाइन सिस्टमलाई अपग्रेड गर्दै गरेको र केहि समयपछि २४ सै घण्टा अनलाइनबाट भुक्तानी गर्न सकिने जानकारी दिएको छ।

एक प्रयोगकर्ताले सामाजिक संजाल ट्विटरमार्फत विद्युत प्राधिकरणको अनलाइन सेवाको बारेमा गुनासो गर्दै “अफिस खुलेको दिन मात्रै १० बजे देखि ५ बजे भित्र मात्रै अनलाइन मार्फत तिर्न मिल्ने !” लेखेर हेलो सरकार र विद्युत प्राधिकरणको ट्विटर ह्याण्डललाई मेन्सन गरेका थिए।

सोही ट्वीटको जवाफमा हेलो सरकारले ट्विटरबाटै प्रणालीमा सुधार गरि जानकारी गराउन निर्देशन दिएपछि विद्युत प्राधिकरणले सेवामा सुधार भईरहेको जानकारी दिएको हो।

हेलो सरकार ह्याण्डलले प्रणालीमा भएको अवरोध र प्रणालीमा सुधार गरि जानकारी गराउन भनेको छ।

हेलो सरकारले ट्विटरमा लेखेको छ, “अनलाइनबाट २४ सै घण्टा बिल तिर्न मिल्नुपर्नेमा सुधार गर्न त्यस कार्यालयको प्रणालीमा के ले अवरोध गरेको हो? सुधार भएमा नागरिकलाई सहज हुने कुरा समेत ध्यान दिंदै यथाशीघ्र प्रणाली सुधार गरी सोको जानकारी यस कार्यालयमा गराउने। धन्यवाद”

सोही ट्विटर निर्देशनको जवाफमा प्राधिकरणले आफ्नो अनलाइन बिलिङ्ग डिस्ट्रिब्यूटिभ सिस्टम (Distributive System) मा रहेको भन्दै सेवाग्राहीका लागि २४ सै घण्टा अनलाइन बिलिङ्ग गर्न नसकिएको बताएको छ। यसका साथै प्राधिकरणले सिस्टम अपग्रेड गरी २४ सै घण्टा भुक्तानी गर्न सकिने बनाउने काम भईरहेको जनाएको हो।

हेलो सरकारको निर्देशनको जवाफमा नेपाल विद्युत प्राधिकरणको ट्विटर ह्याण्डल हेलो एनईएले लेखेको छ, “नेपाल विद्युत प्राधिकरणको अनलाइन बिलिङ्ग Distributive System मा रहेकोले हाललाई २४ सै घण्टा अनलाइन बिलिङ्ग गर्न नसकिएको साथै Revenue Management System मार्फत सिस्टम अपग्रेड गरी यसलाई २४ सै घण्टा गर्ने गरी काम भइरहेको व्यहोरा अनुरोध छ।”

तर कहिले सम्म उक्त प्रणाली तयार हुनेछ र कहिलेदेखि २४ सै घण्टा अनलाइनबाटै विद्युत महशुल तिर्न सकिने छ भन्ने जानकारी दिएको छैन्।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १६ जेष्ठ २०८०, मंगलवार