
काठमाडौं ।
पब्जी मोबाइल प्रो लि (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ को उपाधी मंगोलियाको स्टलवार्ड इस्पोर्ट्सले जितेको छ। स्टलवार्टले लगातार तीन पटक पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको उपाधी उचालेको हो।
स्टवार्टले चार दिनसम्म चलेको प्रतियोगिताको कुल २४ खेलमा २५९ अंक प्राप्त गर्दै आफूलाई पुन एक पटक साउथ एशिया क्षेत्रको अब्बल पब्जी टिमको रुपमा सिद्ध गरेको छ। प्रतियोगिता अवधि भर स्टलवार्टले ७ चिकन डिनर सहित १०४ प्लेसमेन्ट र १५५ इलिमेसन प्वान्ट प्राप्त गरेको छ। प्रतियोगिताको सुरुवाती दुई दिनमा मध्यम प्रदर्शन गरेको स्टवार्टले तेस्रो र चौथो दिन अद्वित्य प्रदर्शन गरेको थियो।
प्रतियोगिताको पहिलो दिन उत्कृष्ट प्रदर्शन गरेको अर्को मंगोलिन टिम ४मिराकल भाइब्स दोस्रो स्थानमा रहन पुगेको छ। राम्रो सुरुवातलाई कायम राख्न नसक्दा ४मिराकल भाइब्स ५० अंकले पछि पर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
तेस्रो र चौथो स्थानमा भने दुई नेपाली टिम डीआरएस गेमिङ र टी२के ईस्पोर्ट्स रहन सफल भए।
उपाधी विजेता स्टलवार्टले पब्जी मोबाइल वर्ल्ड लिग इन्भिटेस्नलका लागि छनोट हुनुका साथै २६ हजार अमेरिकी डलर पुरस्कार राशी पनि हात पार्न सफल भएको छ। दोस्रो हुने टिमले २० हजार अमेरिकी डलर र तेस्रो हुने टिमले १४ हजार अमेरिकी डलर पुरस्कार राशी प्राप्त गरेका छन्।
प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडीको रुपमा स्टलवार्टको टप रहे। एमभीपीका रुपमाले उनले १ हजार अमेरिकी डलर प्राप्त गरे।

यस प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर रहेको थियो। टिमहरुले हासिल गरेको अंकका आधारमा पुरस्कार राशी वितरण गरिएको छ।
जेठ ११ देखि १४ गतेसम्म सञ्चालन भएको फाइनलमा १६ टिमले प्रतिस्पर्धा गरेका थिए।
नेपाल र मंगोलियाका समान ५र५ टिम र पाकिस्तानका ६ टिम प्रतिस्पर्धामा थिए।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार