चीनमा निर्मित घरेलु विमानद्वारा पहिलो व्यावसायिक उडान

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
चीनमा निर्मित घरेलु विमानद्वारा पहिलो व्यावसायिक उडान

काठमाडौं ।

चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ। सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन ।

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आईतबार साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ।

चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१ बिहान १०ः३२ मा साङ्घाइ होङकियाओ अन्तरराष्ट्रिय विमानस्थलबाट एक सय २८ यात्रु लिएर उडेको थियो।

सरकारी टिभीले आइतबार बिहान राजधानी बेइजिङतर्फ गइरहेको सी९१९ हवाईजहाज साङ्घाई माथिको आकाशमा उडेको देखाएको थियो।

बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो । सी ९१९ परियोजना सन् २००७ मा सुरु भएको थियो। कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो।

यो एयरबस र बोइङको एकल-एसिल जेटहरूको प्रभुत्व तोड्ने आशामा कमर्शियल एभिएसन कर्पोरेशन अफ चाइना (कोम्याक) द्वारा निर्माण गरिएको हो।

तर १६४ सीटे प्लेन अझै पनि इन्जिन र एभियोनिक्स सहित पश्चिमी कम्पोनेन्टहरूमा धेरै निर्भर छ।

कोम्याकले पाँच वर्षको अवधिमा वार्षिक १५० विमानहरू उत्पादन गर्ने योजना बनाएको छ र यसले सी ९१९ को लागी १,२०० भन्दा बढी अर्डरहरू सुरक्षित गरिसकेको बताएको छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार