काठमाडौं ।
सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आईतबार सङ्घीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।
सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्न सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको ब्रोडब्यान्ड इन्टरनेट सेवा गत फागुनसम्ममा सबै स्थानीय तहका कार्यालय र ६ हजार सात सय ४३ वडा कार्यालयमा पुगेको उल्लेख छ।
त्यसैगरी, प्रतिवेदनकाअनुसार चार हजार तीन सय ९० स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक माविमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान कार्य सम्पन्न भएको छ।
मध्यपहाडी राजमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्यअन्तर्गत फागुनसम्मका १२ हजार दुई सय ३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ।
सगरमाथा आधार शिविर पदमार्ग, बराह क्षेत्र, अन्नपूर्ण पद मार्ग, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर, हलेसी मन्दिर, गुरुद्वार, बाराको गढिमाई मन्दिर परिसर र पञ्च कास्मिरी (ताकिया मस्जिद) लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा निःशुल्क वाईफाई हटस्पट सञ्चालनमा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
यसैगरी रेडियो नेपालको प्रसारण पहुँच ९२.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार