चालु आर्थिक वर्षमा ५१ हजार १९ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
चालु आर्थिक वर्षमा ५१ हजार १९ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं ।

सरकारले सवारी साधनहरुमा जडान गर्न शुरु गरेको इम्बोस्ड नम्बर प्लेट हालसम्म ५१ हजार १९ सवारीमा जडान गरिएको छ।

आईतबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार चालु आवको २०७९ फागुनसम्म २ लाख ५७ हजार ३९४ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ५१ हजार १९ थान इम्बोस्ड नम्बर प्लेट जाडन गरिएको उल्लेख छ।

२०७९ असारसम्म २ लाख २९ हजार ४३८ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९७२ थान जडानका लागि वितरण भएको छ।

गत आर्थिक वर्ष २०७८/७९ सम्म ४ स्थानबाट इम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत इम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण शुरु गरिएको छ।

२०७३ जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आइटी कम्पनी (अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी)बीच पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो।

इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने म्याद २०७८ भदौमा नै सकिएको थियो। तर सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न साढे १ वर्षको समय थप गरेर सम्झौता नवीकरण गरेको छ।

नवीकरण गरिएको सम्झौता पनि २०८० मंसिर १२ गते सम्पन्न हुनेछ।

इन्बोस्ड नम्बर प्लेट जडान गर्न उपभोक्ताको रुचि कम हुँदा थप समयमा पनि लक्ष्य हासिल गर्न कठिन देखिन्छ।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...