नौ करोड २२ लाख मूल्यको १ हजार २२५ बेस स्टेशन आयात

  • Technology Khabar | १३ जेष्ठ २०८०, शनिबार
नौ करोड २२ लाख मूल्यको १ हजार २२५ बेस स्टेशन आयात

काठमाडौं ।

नेपालमा ९ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको १ हजार २२५ यूनिट बेस स्टेशन (बीटीएस)  आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० बैशाख मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा बेस स्टेशन नेपाल भित्रिएको हो।

बेस स्टेशनको आयातबाट सरकारले १ करोड ४४ लाख ११ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

९ मुलुकबाट बेस स्टेशन आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

उच्च परिणाममा बेस स्टेशन चीनबाट नेपाल भित्रिने गरेको छ। चीनबाट ७ करोड ५२ लाख ६७ हजार रुपैयाँ बराबरको ४३६ यूनिट बेस स्टेशन आयात भएको छ।

अस्ट्रेलियाबाट ५५ लाख ६३ हजार रुपैयाँ बराबरको १० यूनिट बेस स्टेशन आयात भएको छ।

संख्याको आधारमा भारतबाट सर्वाधिक बेस स्टेशन आयात भएको छ। भारतबाट ५ लाख १७ हजार रुपैयाँ बराबरको ७६४ यूनिट बेस स्टेशन आयात भएको छ।

जापान, मलेसिया, स्पेन, ताइबान र यूएईबाट १ करोड ४ लाख ७० हजार रुपैयाँ बराबरको १२ यूनिट बेस स्टेशन आयात भएको छ।

के हो बीटीएस टावर?

बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।

बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।

किन आउँछन् बीटीएस उपकरण?

दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।

यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।

यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।

त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार