सामसङ ग्यालेक्सी एस २३ एफई तेस्रो त्रैमासमा लन्च हुने सम्भावना

Technology Khabar १३ जेष्ठ २०८०, शनिबार

काठमाडौं ।

अघिल्ला रिपोर्टहरूले दावी गरेअनुसार सामसङले २०२३ को चौथो क्वाटरमा ग्यालेक्सी एस२३ फ्यान संस्करण लन्च गर्ने योजना बनाइरहेको थियो। यद्यपि, नयाँ विकास क्रमहरुले भने ग्यालेक्सी एस२३ एफई अपेक्षित गरिएको समय भन्दा धेरै अघि नै लन्च हुने भनी खुलासा गरेको छ।

यस वर्षको सुरुवातमा डेब्यु गरिएको ग्यालेक्सी एस२३ सिरिजको कथित कमजोर बिक्रीको कारण सो नयाँ डिभाइस छिटो आउन लागेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

टिपस्टर रेभेन्गसका अनुसार, ग्यालेक्सी एस २३ लाइनअपको बिक्री यस महिना (मे) मा उल्लेखनीयरूपमा घटेको उल्लेख छ। गत वर्षको सोही अवधिमा ग्यालेक्सी एस २२ सिरिजले हासिल गरेको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा ग्यालेक्सी एस २३ को बिक्री २० प्रतिशतभन्दा बढीले घट्ने अनुमान गरिएको उल्लेख छ।

प्रारम्भिक लहरले मार्च सम्ममा नयाँ अनावरण गरिएको ग्यालेक्सी एस २३ सिरिज प्राप्त गरिसकेको जस्तो देखिएपनि पछि गएर अन्य खरीदकर्ताहरूबाट त्यति चासो नआएको उल्लेख छ। एस२३ लाइनअपको सुस्त बिक्रीको कारण सामसङले ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ अनावरण गर्नु अघि केहि बजारहरूमा ग्यालेक्सी एस २३ एफई घोषणा गर्न सक्ने टिपस्टरले थप बताएका छन्। त्यसैले कारणले एस२३ एफई यस वर्ष जुलाई वा अगस्ट वरिपरि नै डेब्यु हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

टिपस्टरका अनुसार ग्यालेक्सी एस२३ एफई ग्यालेक्सी एस२३ को किफायती संस्करण हुने उल्लेख छ। साथै ग्यालेक्सी एस२३ एफइको स्पेकहरू एस२३ को भन्दा धेरै फरक नहुने भएकाले सामसङले यसलाई तयार पार्न र बजारमा ल्याउन धेरै समय नलिने बताइएको छ।

रिपोर्टहरूले खुलासा गरे अनुसार ग्यालेक्सी एस२३ एफईमा एक्सिनोस २२०० चिपसेट हुनेछ। साथै यसमा ६ जीबी/८ जीबीको र्याम र १२८ जीबी/२५६ जीबीको स्टोरेज (भण्डारण) हुनेछ। त्यसै गरी डिभाइसमा २५ वाटको फास्ट चार्जिङलाई समर्थन ४,५०० एमएएच ब्याट्री समावेश गरिने बताइएको छ।

एस२३ एफई को अगाडि १२० हर्जको एमोलेड डिस्प्ले हुनेछ भने पछाडिको भागमा ओआईएस समर्थन गर्ने ५० मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया