
काठमाडौं ।
अमेजनले मंगलबार फायर म्याक्स ११ नामक आफ्नो सबैभन्दा शक्तिशाली ट्याब्लेट अनावरण गरेको छ। यस नयाँ ट्याब्लेटको नाम जस्तै यस ट्याब्लेटमा २०००x१२०० रिजोल्युसन सहित ११ इन्चको टचस्क्रिन रहेको छ।
यस नयाँ ट्याब्लेटमा मिडियाटेक (एमटीके ८१८८जे) को “एक शक्तिशाली अक्टाकोर प्रोसेसर” राखिनुका साथै ४ जीबी र्यामको सहायता रहेको छ। पावर बटनमा फिङ्गरप्रिन्ट सेन्सर इम्बेड गरिएको ट्याब्लेटमा ६४ जीबी वा १२८ जीबीसम्म स्टोरेज बिस्तार गर्न सकिने छ।
ब्याट्रीको क्षमताको बारेमा जानकारी थाहा नभएको ट्याब्लेटको सेलले १४ घण्टासम्मको ब्याट्री लाईफ प्रदान गर्ने उल्लेख छ। बक्समा पाइने चार्जर ९ वाटको भएको र यसले ट्याब्लेटलाई पूर्णरूपमा चार्ज गर्नको निम्ति ४ घण्टाभन्दा बढी समय लिने बताइएको छ। साथै चार्जिङ्गको लागि भनेर उपलब्ध भएका अर्को एउटा १५ वाटको एडप्टर छुट्टै किन्न सकिने र यसले ट्याब्लेटलाई साढे ३ घण्टामा पूर्णरूपमा चार्ज गर्ने बताइएको छ।
वाईफाई ६ र ब्लुटुथ ५.३ समर्थन गर्ने यस नयाँ ट्याब्लेटको अगाडि र पछाडि गरी ८ मेगापिक्सेलको एक जोडी क्यामराहरू समावेश गरिएको बताइएको छ। साथै ट्याब्लेटमा डुअल डल्बी एटमस स्पिकरहरू पनि समावेश गरिएको छ।
फायर म्याक्स ११ हाल २२९ डलरमा प्रि–अर्डरको लागि तयार भएको र अर्को महिना ढुवानी हुने उल्लेख गरिएको छ। साथै पोगो पिनहरू मार्फत जोडिएको किबोर्ड केस र स्टाइलस जस्ता एक्सेसरिज ट्याब्लेटको ढुवानीमा समावेश हुने बताइएको छ। त्यसैगरी पूर्ण बन्डल चाहिएको खण्डमा भने ३२९.९९ डलर लाग्ने बताइएको छ।
लकस्क्रिन विज्ञापनहरू नभएको संस्करणको मूल्य भने २४४.९९ डलर रहेको र यसको कम्प्लिट बन्डललाई ३४४.९९ डलर मूल्य पर्ने बताइएको छ। उक्त दुबै संस्करण खरिद गर्दा माइक्रोसफ्ट ३६५ पर्सनल (पछि प्रति महिना ४६.९९) को तीन–महिनाको परीक्षण प्राप्त हुनेछ ।
साथै यसमा वर्ड, एक्सेल, पावरप्वाइन्ट, १ टिबी क्लाउड स्टोरेज, क्रस डिभाइस कन्टिन्यूटी र डाटा सुरक्षा पनि समावेश रहेको उल्लेख गरिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार