
काठमाडौं ।
आगामी जुलाई महिनाको अन्त्यमा सामसङले आफ्नो समर अनप्याक्ड इभेन्ट (कार्यक्रम) को आयोजना गर्ने चर्चा रहेको छ। साथै उक्त कार्यक्रममा परम्परागतरूपमा अन्य फ्ल्यागशिप उत्पादनहरूसँगै नवीनतम ग्यालेक्सी वेयरेबल्स पनि देखिने बताइएको छ।
यसअघिका चर्चाहरूले रोटेटिङ्ग बेजेल पुनः समावेश गरिएको देख्न सकिने उल्लेख गरेका थिए। साथै अब आएर उक्त अफवाहहरू वास्तविकतामा परिणत भइरहेको पछिल्लो समय लीक भएका रेन्डरहरूले देखाएका छन्।
जीएसएमएरिनाका अनुसार सामसङ ग्यालेक्सी वाच६ क्लासिक एक प्रिमियम प्रोडक्ट हुने र यसमा न्यूनतम डिजाइनको मेटल बडीको साथ र दायाँ छेउमा दुई ओटा ‘की’हरू हुने बताइएको छ।
वाच६ क्लासिकको डिजाइन वाच४ क्लासिकसँग धेरै नै मिल्दोजुल्दो भएको उल्लेख छ। रेन्डर्समा भएको स्ट्र्यापमा बेल्ट–टाईप होल र पिनको सट्टामा बटरफ्लाई क्लास्प भएको र उक्त स्ट्र्याप एक स्ट्यान्डर्ड स्ट्र्याप हुने भएकाले त्यसलाई सजिलैसँग बदल्न सकिने बताइएको छ।
अघिल्लो रिपोर्टहरूलाई उद्धृत गर्दै र स्रोतका अनुसार वाच६ क्लासिकमा ४७०x४७० पिक्सेल रिजोल्युसन सहितको १.४७ इन्चको एमोलेड डिस्प्ले हुनेछ। क्लासिकको ब्याट्री क्षमतामा ४२५ एमएएच रहेको रिपोर्ट गरिएको छ। साथै उक्त ब्याट्री क्षमता वाच४ क्लासिक र भेनिला वाच ५ हरुको तुलनामा थोरै वृद्धि गरिएको छ। त्यसै गरी सामसङले क्लासिकमा वायरलेस चार्जिङ फिचर दिने अनुमान गरिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार