
काठमाडौं ।
नेपालमा उत्पादित इलेक्टिक मोटरसाइकल यात्रीले हालै सामाजिक सञ्जालमा भएको तस्विर हालै खिचिएको स्वीकार गरेको छ।
यात्री मोटरसाइकलको सडकमा गुडिरहँदा भाँचिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जसमा उक्त मोटरसाइकल गुड्दागुडदै च्यासिस भाँचिएको भनिएको छ।
यसलाई कम्पनीले परीक्षण क्रमको रहेको भनेर स्पष्टीकरण दिएको छ। तर सो फोटो हालसालै खिचिएको नेपाल तथ्य जाँचको फ्याक्ट चेकमा भेटिएपछि कम्पनीले विज्ञप्ती नै जारी गरेर फोटो ताजा र हालसालैको भएको तर परीक्षणमा रहेको बाइकको भएको दाबी गरेको छ।
कम्पनीले भाँचिएको चेसिस यात्रीको आन्तरिक परीक्षणको क्रममा रहेको युनिट भएको र नयाँ संस्करणको लागि सडक डाटा संकलन गरिरहेको दाबी गरेको छ। साथै, यो तस्बिर पुरानो नभइ हालैमा २०८० जेठ ८ गते मात्रै लिइएको स्वीकार गरेको छ।
“हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि यो हाम्रो उत्पादन युनिट चेसिस होइन वा हाम्रा कुनै ग्राहकको प्रडक्ट नभइ यो आन्तरीक परीक्षण टोलीका कर्मचारीहरुद्धारा नयाँ चेसिस परीक्षणको क्रममा लिइएको तस्बिर रहेको छ। उक्त तस्बिर बिक्री भइसकेको बाइक वा ग्राहकसँग सम्बन्धित बाइक नरहेको जानकारी गराउदछौं,” यात्री मोटरसाइकल्सले भनेको छ, “हामीले पहिले नै बिक्री भइसकेको पी१ हाल किन परीक्षण गरिँदैछ भन्ने बारे धेरै जिज्ञासाहरू देख्यौं जुन जायज छ। पहिले नै उल्लेख गरिएझैँ उत्पादन गरेर डेलिभरी गरिएको पी१ को चेसिसको प्रमाणिकरण भइसकेको छ। यद्यपि, यस परीक्षणद्धारा हामी नयाँ संस्करणको लागि फरक चेसिस परीक्षण गरिरहेका छौं। यो नयाँ चेसिस तौल र दुरीको लागि अप्टिमाइज गरिएको छ। हाम्रो प्रमाणित भइसकेको चेसिसमा अप्टिमाइजेसनको लागी ठाउँ रहेकाले यो परीक्षण गरिरहेका थियौं ।”
यसका साथै कम्पनीले सडक परीक्षणको बारेमा समेत जानकारी दिएको छ। कम्पनीले उत्पादनको धेरै चरणहरु हुने भन्दै भनेको छ- “प्रारम्भिक डिजाइन परीक्षण हाम्रो कम्प्युटरहरूमा भर्चुअल मोडेलहरूमा गरिन्छ र त्यसपछि परिणामहरू भौतिक परीक्षण डाटासँग सम्बन्धित छन् कि छै नन् भनी प्रमाणित गर्न प्रयोगशाला परीक्षणहरू सञ्चालन गरिन्छ । सन्तोषजनक नतिजाहरू देखिएपछि हामी चेसिसमा वास्तविक स्ट्रेस डाटा प्राप्त गर्न सडक परीक्षणहरू सुरु गर्दछौं। बन्द र खुला सडक परीक्षण दुवै इन्डष्ट्रि स्ट्याण्डर्डको एक चरण हो।”
सोही कारणले गर्दा भ्रम उत्पन्न हुन गइ धेरै व्यक्ति तथा अनलाइन समाचार पोर्टलहरूले आन्तरिक परीक्षणको क्रममा रहेको बाइक हो भन्ने नबुझीकनै यात्रीको चेसिस भाँचिएको निष्कर्ष निकाल्न पुगेको कम्पनीको दाबी छ।
यात्रीले परीक्षण र सुरक्षाको लागि पूर्ण रूपमा प्रतिबद्ध भएको भन्दै आन्तरिक ज्ञान तथा अनुभवलाई निखार्दै यूजर एक्सपेरियन्सलाई अझ प्रभावकारी तुल्याउने एकमात्र बाटो भएको उल्लेख छ।
तर कम्पनीले आन्तरिक परीक्षणको लागि छुट्टै सुरक्षितरुपमा सडक परीक्षण नगरेर सर्वसाधारणको जिउज्यानलाई नै जोखिममा राख्नेगरी किन प्रत्यक्ष सडकमा परीक्षण गर्यो भन्ने बारेमा भने केहि बोलेको छैन्।
प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार