Technology Khabar ८ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
भारत सरकारले आईटी हार्डवेयर क्षेत्रको विकासलाई गति दिन र ल्यापटप, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न पीएलआई २.० योजना स्वीकृत गरेको छ।
यस योजनाका लागि १७ हजार करोड भारतीय रुपैयाँ बजेट तोकिएको छ। यो योजनाले हार्डवेयर क्षेत्रमा द्रुत रूपमा रोजगारी बढाउने र यसले देशलाई ठूलो फाइदा पुग्ने भारतीय सरकारले बताएको छ।
भारतीय मिडिया रिपोर्टकाअनुसार केन्द्रीय सञ्चार मन्त्री अश्विनी वैष्णवले पीएलआई २.० योजना प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको बैठकमा स्वीकृत भएको र यो ६ वर्षको लागि भएको जानकारी दिए। यसका लागि भारु १७ लाख करोडको बजेट पनि विनियोजन गरिएको छ। यो नयाँ योजना लागू भएसँगै हार्डवेयर क्षेत्रमा उत्पादन ३.३५ लाख करोडले बढ्ने र २ हजार ४३० करोड लगानी हुने अपेक्षा गरिएको उनको भनाइ छ।
यो योजनाले यो वर्ष हार्डवेयर क्षेत्रमा ७५ हजार रोजगारी सृजना गर्ने र आगामी वर्षहरूमा लाखौं रोजगारीका अवसरहरू सृजना हुने बताईएको छ। यो वर्ष भारतले इलेक्ट्रोनिक्स उत्पादनको क्षेत्रमा १०५ अर्ब डलर अर्थात करिब ९ लाख करोड भारतीय रुपैयाँको आँकडा पार गरेको बताए। योसँगै भारत विश्वको दोस्रो ठूलो फोन निर्माता बनेको छ।
पीएलआई २.० योजना विशेष गरी ल्यापटप, ट्याब्लेट, अल-इन-वन पीसी, सर्भर र अन्य इलेक्ट्रोनिक उपकरणहरूको घरेलु उत्पादनलाई प्रोत्साहन गर्न ल्याइएको हो। यसैबीच, विश्वका प्रमुख आईटी कम्पनीहरूले पनि भारतमा आफ्नो चासो देखाएका छन्। त्यसैले यो योजना स्वीकृत भएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार