स्मार्ट लाइसेन्स एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गरिँदै

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
स्मार्ट लाइसेन्स एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गरिँदै

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्।

पूर्व अरनिको यातायात प्रालिले आईतबारदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए।

मन्त्री ज्वालाले भने, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।”

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ।”

उनले यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको बताए।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार