काठमाडौं ।
नेपालमा फोरजी इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दो क्रममा देखिएको छ। एक महिनामा करिब ३ लाख फोरजी प्रयोगकर्ता थप भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ फागुन मसान्तसम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ९४ लाख ८८ हजार २९४ पुगेको हो।
गएको माघमा फोरजी प्रयोगकर्ता १ करोड ९२ लाख ३ हजार ७७१ थिए। एक महिनाको अवधिमा २ लाख ८४ हजार ५२३ अर्थात १.४८ प्रतिशतले फोरजी प्रयोगकर्ता बढेका छन्।
नेपालका तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आएका छन्। नेपालमा सबैभन्दा धेरै फोरजी ग्राहक सरकारी स्वामित्वको नेपाल टेलिकमसँग रहेको छ। नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड २३ लाख ५७ हजार ९०२ छन्।
माघमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता १ करोड २१ लाख ९७ हजार ३४४ थिए। एक महिनाको अवधिमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख ६० हजार ५५८ अर्थात १.३१ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको एनसेल आजियाटा लिमिटेडका फोरजी ग्राहक ७० लाख २३ हजार ३१६ छन्। माघमा एनसेलको फोरजी प्रयोगकर्ता ६८ लाख ९९ हजार ३५१ थिए। एक महिनाको अवधिमा एनसेलको फोरजी ग्राहक १ लाख २३ हजार ९६५ आर्थत १.७९ प्रतिशतले बढेको छ।
१ लाख ७ हजार ७६ फोरजी ग्राहकसहित स्मार्ट टेलिकम तेस्रो स्थानमा छ। स्मार्ट टेलिकमको फोरजी ग्राहक संख्यामा कुनै परिवर्तन नभएको प्राधिकरणको रिपोर्टमा देखिन्छ।
स्मरणरहोस्, हाल स्मार्ट टेलिकम स्वतः खारेजीमा परेको छ र त्यसलाई सरकारले अधिनमा लिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार