
काठमाडौं ।
२१ औं शताब्दी सुहाउँदो डिजिटल र प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको छ। कैलालीमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुलाई एकदिने कार्याशाला कार्यक्रममा शिक्षकले पढाउने विषयवस्तुलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगका विषयमा जानकारी दिइएको हो।
त्रिभुवन विश्वविद्यालय खुल्ला तथा दुर शिक्षा केन्द्र काठमाडौंको सहकार्यमा घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यशाला कार्यक्रममा सामुदायिक क्याम्पसका प्राध्यापकहरुको सहभागिता थियो। कार्यक्रममा केन्द्रका निर्देशक पुर्णबहादुर कंडेलले परम्परागत शैलीको अध्यापनशैली अहिलेको समयमा प्रभावकारी नहुने बताउँदै २१औं शताब्दी सुहाउँदो डिजिटल प्रविधिको प्रयोग शैक्षिक विषयवस्तुमा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले केन्द्रले अहिले शिक्षालाई प्रविधिमैत्री बनाउन अनलाइन कक्षाको माध्यमबाट शिक्षकहरुलाई नयाँ विषयको कक्षा लिने व्यवस्थाका साथै शिक्षण गतिविधिलाई डिजिटलमाध्यममा जोड दिन थालेको बताए।
कार्यशालाको सहजीकरण केन्द्रका उपनिर्देशक डाक्टर बेदप्रसाद ढकाल, डाक्टर कल्पना ज्ञवाली लगायतले गरेका थिए। उपनिर्देशक ढकालले आफूले पढाउने विषयवस्तुलाई डिजिटलमा जोडेर सबै विद्यार्थीले सहजै घरमै बसीबसी अध्ययन गर्नपाउने व्यवस्थाका बारेमा जानकारी गराए। उनले कोभिडको समयमा टिम, जुम लगायतका एप्सको माध्यमले जसरी भौतिक रुपमा टाढा रहेका विद्यार्थीलाई प्रविधिको माध्यमले शिक्षा लिन सहज तुलाएको उल्लेख गर्दै हरेक शिक्षकले पढाउने विषयवस्तुका बारेमा भिडियो, अडियो बनाइ ई-लर्निङको माध्यमबाट विद्यार्थीमाझ पुर्याउन सकिने बारेमा जानकारी गराएका थिए।
कार्यशालाको सहजीकरण गर्दै डाक्टर कल्पना ज्ञवालीले शिक्षकले विद्यार्थीलाई हतोत्साहि बनाउने काम गर्न नहुने बताए। शिक्षक दोस्रो अभिभावक रहेको उल्लेख गर्दै विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने हात शिक्षकको समेत रहेको बताए।
यस्तै, कार्यशालामा सहभागि प्राध्यापकहरुले कार्यशाला निक्कै प्रभावकारी रहेको बताए। टीकापुर बहुमुखी क्याम्पसका ज्ञानु पौडेलले हामीले दिने विषयबस्तुलाई कसरी डिजिटलाइजेसनमा जोड्न सकिन्छ र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय कार्यशालामा सिक्न पाएको बताए।
त्यसैगरी, कैलाली बहुमुखी क्याम्पसका मानसिंह साउदले कार्यशाला आफ्ना लागि निक्कै लाभदायी रहेको बताए। उनले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा प्रयोगमा ल्याइ शिक्षण पेशालाई अझै प्रभावकारी बनाउने बताए।
कार्यशालामा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले स्रोत साधनको अभावका बाबजुद दुर शिक्षा केन्द्रले प्राध्यापकहरुलाई समय सुहाउँदो शिक्षाका लागि प्रविधिमा जोडेर अध्ययापन गराउन कार्यशालाले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार