क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृह जिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ।

आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौंको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटरसहितका सामग्री सहयोग गरेपछि आईतबारदेखि सेन्टर सञ्चालनमा आएको हो। जिल्लाका अधिकांश विद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले बताए।

महासचिव कोइरालाले भने, “आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थामा कम्प्युटर शिक्षाको सुरुआत गर्ने उद्देश्यका साथमा अभियान सुरु गरिएको हो।”

क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएसँगै अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग पुगेको छ। सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्व अर्थमन्त्री कोइरालासहितको टिम भने भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि परेका हुन्।

इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका शङ्करप्रसाद कोइरालासहितको टिमले देखाएको छ।

भोजपुर नगरपालिकामा रहेको विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविसहित पुस्तकालय लगायतका संस्थालाई पनि कोइरालाको टिमले यसअघि नै कम्प्युटर लगायतका सामग्री सहयोग गरिसकेको छ।

‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान सुरु गरेको पूर्व अर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विद्यालयमा गरेको सहयोग शैक्षिक सुधारमा महत्त्वपूर्ण भएको जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खत्रीले बताए। पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताए।

“विगतमा जस्तो पठनपाठन गराएर मात्र हुँदैन, अब विद्यालयमा प्रविधिमैत्री ई–लर्निङ सेन्टर पनि स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौँ”, कोइरालाले भने।

पूर्व अर्थमन्त्री कोइरालाको टिमले जिल्लाका शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन गरेको सहयोग महत्त्वपूर्ण भएकाले अब घरबाट किताब कपी लिएर विद्यालयमा पढन आउने भन्दा पनि विद्यार्थीले प्रविधिबाट नै सिक्नुपर्ने प्राध्यापक इन्द्र राउतको भनाइ छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार