
काठमाडौं ।
सरकारले आफूले गरेका राम्रा काम समयमै जनताको बिचमा पुर्याउने भन्दै एकद्वार प्रणालीबाट जानकारी दिने भएको छ।
यसको लागि सरकारले सबै मन्त्रालयका गतिविधि एकद्वार प्रणालीबाट सूचना विभागले सार्वजनिक गर्ने गरी वेबसाइट र एप तयार गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएकी छन्।
आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरुको बैठकलाई सम्वोधन गर्दै उनले गणतन्त्र स्थापनाका गौरवमय पन्ध्र वर्षको समीक्षासहित यसविचमा भएका प्रगतिका सूचक र तथ्य जनताको बिचमा लैजानुपर्नेमा जोड दिईन्।
सरकारले गर्ने राम्रा काम समयमै जनताको बिचमा पुग्नुपर्नेमा जोड दिंदै उनले सिंगो सरकारका गतिविधिलाई एकद्वार प्रणालीबाट जनताको बिचमा लैजाने तयारी पनि थालिएको जानकारी दिईन्। त्यसका लागि सबै मन्त्रालयका गतिविधि एकद्वार प्रणालीबाट सूचना विभागले सार्वजनिक गर्ने गरी वेबसाइट र एपको तयारी गरिरहेको उनले बताईन्।
प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार