
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले देशभित्रै इलेक्ट्रिक मोटर साइकल बनाइरहेको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन्।
उनले आज प्रतिनिधि सभामा बोल्दै भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको बताए।
‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो। दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।’
सांसद थापाले यसअघि कानून नहुँदा यात्रीको दर्ता नभएको जानकारी दिँदै त्यसको आधारमा ढिलो भएको भनेर जरिवाना गरिएको बताए।
‘पहिले कानून थिएन। दर्ता भएन। अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ,’ थापाले भने।
सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने उनले बताए।
यसअघि यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको थियो।
यातायात कार्यालयले मे १५ तारिखमा यात्री पी १ मोटरसाइकल दर्ता गरेको हो। पी–१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल हो ।यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो। योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ।
प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार