काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले डिजिटल प्रविधिमा महिलाको सहभागिता सुदृढ बनाउनुपर्ने बताएका छन्। राष्ट्रिय महिला आयोगद्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय महिला(युएनवुमन)अन्तर्गतको महिलाको अवस्थासम्बन्धी आयोग (सीएसडब्लु)को ६७औँ सम्मेलनमा सहमति भएका निष्कर्षसम्बन्धी समन्वयात्मक बैठकमा सचिव अर्यालले डिजिटल प्रविधिलाई प्राथमिकतामा राखी महिलाको सहभागिता सुदृढ बनाउनुपर्ने बताए।
“डिजिटल प्रविधिमा अन्तर्राष्ट्रियस्तरले फड्को मारिसकेको परिवेशमा नेपालका महिलाको पहुँच कमजोर रहेको छ । यस विषयलाई प्राथमिकतामा राखी पहुँच अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध छ”, उनले भने।
बैठकमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डिजिटल प्रविधिबाट महिला हिंसा बढ्न सक्ने चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताईन्। उनले मुलुकको भौगोलिक विविधताका कारण सबै महिलाको पहुँच समान हुन नसकेकाले पहुँचमा अभिवृद्धि गराउन प्राथमिकता दिन आवश्यक रहेको बताईन्। मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले सीएसडब्लुको सहमति भएका निष्कर्षसहितको कार्यपत्र प्रस्तुत गरिन।
कार्यक्रममा लैङ्गिक डिजिटल विभाजन अन्त्यका लागि डिजिटल समतालाई प्राथमिकता दिने, वित्तीय लाभ उठाउँदै सबै महिला र बालबालिकाको सशक्तीकरण र लैङ्गिक समानता कायम गर्न समावेशी डिजिटल रुपान्तरण तथा नवप्रवर्तन, डिजिटल युगमा लैङ्गिक उत्तरदायी डिजिटल, विज्ञान र प्राविधिक शिक्षामा जोड दिइएको थियो । त्यस्तै प्रविधि र नवप्रवर्तनमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता नेतृत्वका साथै रोजगारी प्रवद्र्धन गर्ने, लैङ्गिक उत्तरदायी प्रविधि डिजाइन, विकास गरी लागू गर्ने, डिजिटल युगमा निष्पक्षता, पादर्शिता र जवाफदेहिता सुदृढ गर्ने, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि तथ्याङ्क विज्ञान, प्रविधिको प्रयोगबाट हुने सबै प्रकारका हिंसा विशेषगरी लैङ्गिक हिंसा रोकथाम र उन्मूलन गर्ने विषयमा कार्यपत्रमा उल्लेख रहेको थियो ।
बैठकमा सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले डिजिटल प्रविधिको प्रयोगले निम्त्याउने महिला हिंसाका घटना हुन नदिन नियामक निकायको भूमिका बलियो बनाउनुपर्ने, लक्षित वर्गसम्म पहुँचको विस्तार गर्नुपर्ने, प्रविधिबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, अपाङ्गतामैत्री लैङ्गिकमैत्री डिजिटल प्रविधिमा जोड दिनुपर्ने विषय उठान गरेका थिए।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार