भैरहवाबाट विद्युतीय सवारीको आयात बढ्यो

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
भैरहवाबाट विद्युतीय सवारीको आयात बढ्यो

काठमाडौं ।

भैरहवा भन्सार नाकाबाट नेपाल भित्रने विद्युतीय सवारीसाधनको आयात बढेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै गएकाले आयात बढेको हो ।

पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने वायु प्रदूषणबाट स्वास्थ्यमा असर पर्ने भएकाले विश्वव्यापी रूपमा विद्युतीय गाडीको माग बढ्दै गएसँगै नेपालमा पनि बढेको छ ।चालु आर्थिक वर्षको चैत महिनासम्म एक हजार ७५५ वटा विद्युतीय जिप, कार, भ्यान भैरहवा भन्सार कार्यालय हुँदै भित्रिएका छन् । जसबाट एक अर्ब ४१ करोड २१ लाख ९१ हजार रुपियाँ राजस्व उठेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालभरि २११ वटा विद्युतीय गाडी भित्रिएका थिए, जसबाट सरकारले पहिलो महिनामा २१ करोड राजस्व सङ्कलन गरेको थियो ।भैरहवा भन्सार हुँदै नौ महिनामा आयात भएका विद्युतीय जिप, कार, भ्यान गत आर्थिक वर्षको आयातभन्दा तीन गुणा बढी रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७८/७९ को चैतसम्म भैरहवा भन्सार कार्यालय हुँदै ५१४ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेले कुल एक अर्ब २८ करोड ६४ लाख ४४ हजार बराबरको विद्युतीय सवारीसाधनबाट गत वर्ष ३८ करोड ३३ लाख ६५ हजार राजस्व सङ्कलन भएको जानकारी दिए। नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् ।

“नयाँ सवारीसाधन भन्सारमा भित्रिरहन्छन्। अहिले पनि धेरै गाडी आएर बसेका छन्, त्यसमा विद्युतीय गाडी धेरै सङ्ख्यामा छन्,” लामिछानेले भने, “गाडी ल्याउने व्यवसायीसँग बुझ्दा बैङ्कले ऋण सुविधा नदिएकाले भन्सारमै थन्क्याएर राख्नु परेको बताउने गरेका छन्।”

उनका अनुसार नेपालमा खपत हुनेमध्ये सामान्यतया वीरगन्जबाट ६० प्रतिशत, भैरहवाबाट ३० प्रतिशत र अन्य नाकाबाट १० प्रतिशत गाडी भित्रिने गरेका छन्। गोरखापत्रबाट

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार