वैदेशिक रोजगारको विज्ञापन वेबसाइटमा राख्ने प्रस्ताव

Technology Khabar ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई विदेशबाट कामका लागि आएका मागहरूको विज्ञापन वेबसाइटमार्फत प्रकाशित गरे पनि पुग्ने गरी कानुन संशोधन मस्यौदा तयार गरेको छ।

यसअघि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि आएका मागको राष्ट्रियस्तरका दैनिक पत्रिकामा, वैदेशिक रोजगार विभागको साइट र आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था भएकामा त्यसलाई संशोधन गरेर विभाग र म्यानपावर कम्पनीको वेबसाइटमा राखे मात्रै पुग्ने गरी कानुनको मस्यौदा तयार गरेको हो ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको पूर्वस्वीकृति प्राप्त भएपछि श्रमिक छनोटका लागि कम्तीमा सात दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने गरी प्रस्ताव गरेको जनाएको छ।

प्रस्ताविक मस्यौदामा विज्ञापन प्रकाशित भएको जानकारी भने त्यसै दिन वैदेशिक रोजगार विभागलाई दिनुपर्ने प्रस्ताव गरिएको छ। यद्यपि यो संशोधन विधेयकमाथि संसद्मा छलफल पनि सुरु भएको छैन।

वरिष्ठ अधिवक्ता सोम लुइटेलले वैदेशिक रोजगारीमा जाने आमश्रमिक वेबसाइटको पहुँचमा नभएको र अहिलेसम्म पत्रपत्रिकामा नै अभ्यस्त भएकाले तत्कालका लागि वेबसाइटमा मात्रै राख्ने व्यवस्था श्रमिकको पक्षमा नहुने बताए। सरकारले प्रस्ताव गरेको व्यवस्थाले वैदेशिक रोजगारीमा जान चाहनेलाई श्रमिकको मागबारेको सूचना पाउन कठिन हुने उनको भनाइ छ।

“यसले श्रमिकलाई सूचनाको पहुँचमा पुग्न समस्या हुन्छ,” वरिष्ठ अधिवक्ता लुइटेलले भने, “सबै श्रमिकलाई वैदेशिक रोजगार विभागको वेबसाइटमा पुग्न सम्भव हुँदैन।”

त्यसो त पत्रिकाको सूचनामा उल्लेखित सेवासुविधा दिनुपर्ने र पारदर्शी प्रक्रिया अपनाउन दबाब पर्ने गरेका कारण म्यानपावर कम्पनीले यो व्यवस्था हटाउन लबिङ गर्दै आएका छन् । हाल ऐनमा यस्ता सूचना राष्ट्रियस्तरको पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचनापाटीमा टाँस्नुपर्ने व्यवस्था छ।

“अहिले पत्रिकामा आउने सूचनाले श्रमिकलाई धेरै हदसम्म सहज अवस्था छ। विदेशिने अधिकांश श्रमिकको जुन डिजिटल साक्षरताको अवस्था छ, त्यसका कारण समेत यस्तो व्यवस्था उपयुक्त हुँदैन,” उनले थपे।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ सरकारले श्रमिकको हितभन्दा व्यवसायीको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर नीति बनाउने गरेको आरोप लगाए। वैदेशिक रोजगार विभागकै वेबसाइटमा सबै म्यानपावरको श्रमिकको डिमान्ड हेर्न मिल्ने सजिलो प्रणाली बनाएमा त्यसले केही हदसम्म श्रमिकलाई सूचनाको पहुँचमा ल्याउन सकिने बताउँदै विज्ञ डा गुरुङले अहिलेसम्म पत्रिकाकै सूचनामा श्रमिकले सजिलो मानिरहेका हुनाले तत्काल पत्रिकामा प्रकाशित गर्न रोक्न नहुने बताए।

श्रम मन्त्रालयका सहसविच राजीव पोखरेलले म्यानपावर कम्पनीको मागको विज्ञापन विभागको वेबसाइटमा राखिने भएकाले वैदेशिक रोजगारीमा जानेलाई अझै सहज हुने भएकाले नयाँ प्रस्ताव गरिएको जानकारी दिए।

विज्ञापन प्रकाशित गर्दा म्यानपावर कम्पनीले राष्ट्रियस्तर दैनिक भनेर सबै श्रमिकको पहुँच नपुग्ने पत्रपत्रिकामा प्रकाशित गर्ने गरेको भन्दै उनले भने, “सामान्य राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्ने गरिएको छ । जुन पत्रपत्रिका आमनागरिकको पहुँचमै हुँदैन, सबैतिर पुगेको पनि हुँदैन, त्यसैले प्रकारका पत्रिकामा भन्दा विभागको वेबसाइटमा धेरैको पहुँच छ।”

साथै वेबसाइट चलाउन नजान्नेले पनि स्थानीय पालिकाको श्रम रोजगार केन्द्रमा गएर वैदेशिक रोजगार विभागको वेबसाइटमा राखिएका विज्ञापनबारे बुझ्न सकिने उनको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया