नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल दर घटायो

  • Technology Khabar | २ जेष्ठ २०८०, मंगलवार
नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल दर घटायो
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल दर घटाएको छ।

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ। मे १७ मा मनाइने आईटियू डे २०२३ को अवसरमा भोलि (२०८० जेठ ३ गते) देखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने जानकारी दिएको छ।

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु. ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ।

हाल कुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ ।

अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिने जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार