बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

  • Technology Khabar | २ जेष्ठ २०८०, मंगलवार
बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

काठमाडौं ।

– थम्मन थापा 

चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो।

गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन ।

मोवाईल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोवाईल सेवा उपलब्ध थिएन। मोवाईल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए।

स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोवाईल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए। सेवा सुचारु भएसँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ। निकट भविष्यमा उक्त टावर मार्फत चौथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए।

पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले जानकारी दिए। टावर निर्माण, उपकरण टावरसम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए।

टुनिबोटमा मोवाईल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताए। गाउँपालिका अध्यक्ष थापाले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताए। उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरे।

पहिलो पटक मोवाईलमा कुराकानी गर्दै इन्टरनेट चलाउन पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए।

नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार