आजदेखि काठमाडौँ महानगरपालिकामा नक्सा पासको काम अनलाइनबाटै हुने

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार
आजदेखि काठमाडौँ महानगरपालिकामा नक्सा पासको काम अनलाइनबाटै हुने
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ। बैशाख ३१ गतेको प्रमुखस्तरीय निर्णयबाट जेठ १ गतेदेखि कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो। यसका लागि महानगरपालिकाले इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इबीपीएस) प्रणाली  अद्यावधिक गरिएको जानकारी दिएको छ।

यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो। यसअघिसम्म नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्थ्यो। विसं २०७० भदौ १६ गतेबाट महानगरले कागज पनि हुनुपर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो ।

अब प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको हो।

यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ ।

‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ,” प्रमुख शाहले भने, ‘सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका शिफारिस लिने जस्ता महत्वपूर्ण काम इन्टरनेट भएको मोवाइल र कम्प्युटरमा प्राप्त हुनेछ।’

चालु आर्थिक बर्षको ‘सहरी विकास तथा भवन मापदण्ड सम्बन्धी नीति’ मा ‘भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम-इबीपीएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ। डिजिटल सिग्नेचरलाई आगामी बर्षदेखि कार्यान्वयनमा ल्याइनेछ।’ भन्ने नीति राखिएको छ। प्रणाली कागजरहित भएपछि यो नीति कार्यान्वयनमा आएको छ।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया