‘नमस्ते पे’ क्युआर कोडमार्फत नेपाल टेलिकमको विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको छ।

नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरिएको हो। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे।

सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरिन्। उनले भनिन, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ। अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ।’

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ।’

सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ। यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने छ।

कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआर मार्फत भुक्तानी गरे वापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको जनाएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया