वालेट प्रयोगकर्ता १ करोड ७५ लाख पुगे, करोबार रकम पनि बढ्दो

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
वालेट प्रयोगकर्ता १ करोड ७५ लाख पुगे, करोबार रकम पनि बढ्दो

काठमाडौं ।

नेपालमा भुक्तानी सेवा प्रदायक वालेटको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०७९ चैतको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट प्रयोगकर्ता १ करोड ७५ लाख ६० हजार २५३ पुगेको देखिएको हो।

२०७९ फागुनमा वालेट प्रयोगकर्ता १ करोड ६७ लाख ५१ हजार ७१३ थिए। एक महिनाको अवधिमा ८ लाख ८ हजार ५४० वालेट प्रयोगकर्ता थपिएका छन्। गत आव २०७८÷७९ को चैतसम्म वालेट प्रयोगकर्ता १ करोड १७ लाख १९ हजार ६२६ थिए। एक वर्षको अवधिमा वालेट प्रयोग गर्नेको संख्या ४९.८३ प्रतिशतले बढेको छ।

चैतमा वालेटबाट १ करोड ८६ लाख ६७ हजार १३९ कारोबार हुँदा १९ अर्ब ९२ करोड २० लाख भुक्तानी भएको राष्ट्र बैंकको प्रतिवेदनमा देखिन्छ। २०७९ चैतमा वालेटबाट १५ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार