
काठमाडौं ।
सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को नवीकरण अवधि १० वर्षसम्म हुने कानुनी व्यवस्था गर्न खोजेको छ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ ले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गरेर लाइसेन्स नवीकरण अवधि १० वर्ष पुर्याउँन लागेको हो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्न बैशाख २६ गते प्रतिनिधि सभामा विधेयक दर्ता गराएको हो।
दर्ता विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ उपदफा (३)मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरुको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरु राखिएका छन्।
विधेयक माथि प्रतिनिधि सभामा छलफल हुनेछ। सांसदहरुले गर्ने छलफलको आधारमा लाइसेन्स नवीकरण बहाल रहने अवधि टुंगो लगाइनेछ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संसोधन मार्फत हामीले पनि लाइसेन्सको नवीकरण अवधि १० वर्ष गर्न प्रस्ताव गरेका छौं। लाइसेन्स नवीकरणका लागि यातायात कार्यालयामा हुने सेवाग्राहीको बढ्दो भिडलाई सम्बोधन गर्नका लागि नवीकरण अवधि १० वर्षसम्म कायम गर्न प्रस्ताव गरिएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरु बताउँछन्।
हाल प्रयोगमा भइरहेको स्मार्ट लाइसेन्सको जीवन १०/१२ वर्ष भन्दा माथि रहेको उनको दाबी छ।
आर्थिक हिसाबले पनि नवीकरण अवधि बढाउँदा मितव्यी हुने र सेवाग्राहीले एउटै कामका लागि पटक पटक कार्यालय धाउनु पर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ।
लाइसेन्स नवीकरणको अवधि १० वर्ष पुर्याउँने प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत भएको तर छलफलमा गइनसकेकाले यती नै अवधि हुने भन्न सकिने अवस्था नरहेको उनको भनाई छ।
प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार