
काठमाडौं ।
फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायतका सामाजिक संजालहरुको दुरुपयोग गरी अनलाइनमा बिभिन्न पेज तथा वेबसाइट एकाउन्ट सिर्जना गरी सस्तो मूल्यमा महंगो ब्राण्डका बिभिन्न मोडेलका आईफोन तथा मोबाईल सेटहरुको बिक्रिमा छ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सो ठगी कार्यमा संलग्न रहेका आदित्य कर्णलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारमा बस्दै आएका १९ वर्षीय कर्णलाई प्रहरी टोलीले डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ।
ह्वाट्सएप नम्बर तथा सम्पर्क नम्बर सहित आकर्षक बिज्ञापन स्टोरी टाइमलाइनमा पब्लिक पोस्ट गरी उक्त मोडेलका मोबाईल सेटहरु किन्नको लागी ग्राहकहरु सम्पर्कमा आएमा निजहरुसँग कुराकानी गरी आफ्नो फरक परिचय बताई पोखरा, चितवन लगायतका स्थानहरुमा मोबाईल पसल छ भनेर ठगी गर्ने गरेका थिए।
उनले कुरियर, कार्गो लगायतका माध्यमबाट मोबाईल डेलिभरी गरी पठाई दिन्छु भनी अर्डर बमोजिमको मोबाईल उपलब्ध नगराई १५ जना पिडितहरुलाई ४ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
प्रकाशित: २८ बैशाख २०८०, बिहीबार