
काठमाडौं ।
भारतीय बजारमा स्विगी-जोमाटोसँग प्रतिस्पर्धा गर्न अर्को नयाँ फूड डेलिभरी एप बजारमा आएको छ। बलिउड अभिनेता सुनिल शेट्टीले यो नयाँ फूड डेलिभरी एप वायू (Waayu) लन्च गरेका भारतीय मिडियाले उल्लेख गरेका छन्।
यद्यपि, यस एपका सेवाहरू हाल मुम्बईमा मात्र उपलब्ध छन्। चाँडै, यसको सेवा अन्य मेट्रो शहरहरूमा सुरु गर्न सकिने बताईएको छ। यस्तो अवस्थामा यो एपले विगत ५ वर्षदेखि चलिरहेको स्विगी र जोमाटोको एकाधिकारलाई चुनौती दिने सक्ला त भन्ने प्रश्न उठेको छ?
रिपोर्टकाअनुसार पछिल्ला केही वर्षदेखि स्विगी र जोमाटोले खानाको डेलिभरीका लागि ग्राहकसँग शुल्क लिन थालेका छन् । यसअघि यी एप्समार्फत खाना डेलिभरी निःशुल्क गरिन्थ्यो। यसबाहेक, यी एपहरूमा उपलब्ध खानाको मूल्य पहिले नै बजारको भन्दा बढी छ। यस्तो अवस्थामा प्रयोगकर्ताले फुड डेलिभरी एपबाट खाना अर्डर गर्नको तुलनामा दोब्बर रकम खर्च गर्नुपर्ने हुन्छ। यति मात्र होइन, यी फूड डेलिभरी एप्सले रेष्टुरेन्टबाट कमिसन पनि लिन्छन्।
सुनील शेट्टीको फूड डेलिभरी एपले ग्राहकहरूलाई उनीहरूको मनपर्ने रेस्टुरेन्टबाट उत्तम मूल्यमा खाना उपलब्ध गराउने दाबी गरेको छ। ग्राहक कमिशनको सट्टा, यो एपले रेस्टुरेन्ट मालिकहरूबाट निश्चित कमिशन लिनेछ, जसले ग्राहकहरूलाई असर गर्दैन।
रिपोर्टका अनुसार, एपले हाल रेस्टुरेन्टहरूलाई एक महिनाको लागि १,००० भारतीय रुपैयाँ शुल्क लिनेछ, जसलाई पछि बढाउन सकिने बताईएको छ।
बलिउड अभिनेता शेट्टी विगत धेरै वर्षदेखि खानाको व्यवसाय चलाइरहेका छन्। उनको मुम्बईमा मिस्चीफ डाइनिङ बार र क्लब एच२० जस्ता रेष्टुरेन्टहरू छन्। साथै, उनी भारतीय होटल र रेस्टुरेन्ट संघका सदस्य हुन्। सुनील शेट्टी आफैं यस वायू एपको ब्रान्ड एम्बेसडर हुन्। अहिलेसम्म मुम्बईका १५०० भन्दा बढी रेष्टुरेन्टहरू यस एपमा दर्ता भइसकेका छन्, जसमा एपमार्फत ३ लाखभन्दा बढी खाद्य वस्तुहरू डेलिभर गर्न सकिने उल्लेख छ।
यसअघि नै भारतीय सरकारले सुरु गरेको ई–कमर्स वेबसाइट ओएनडीसी (ओपन नेटवर्क फर डिजिटल कमर्स) ले पनि ग्राहकलाई अनलाइन सस्तोमा खाना उपलब्ध गराउँदै आएको छ। यो इ-कमर्स वेबसाइट हाल बिटा चरणमा छ र केही मेट्रो शहरहरूमा मात्र परीक्षण भइरहेको छ।
प्रकाशित: २८ बैशाख २०८०, बिहीबार