
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ को फाइनल आज (बिहीबार) देखि सुरु हुँदैछ। चार दिनसम्म आयोजना हुने प्रतियोगिता आईतबार सकिनेछ।
एक लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार राशी रहेको प्रतियोगितामा नेपाल, पाकिस्तान र मंगोलियाका टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल र मंगोलियाका समान ५÷५ टिम र पाकिस्तानका ६ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्।
पीएमपीएल साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ को लिग चरणमा शीर्ष १६ स्थानमा रहन सफल टिमबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। लिग चरणमा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए। लिग चरणबाट नेपाल र पाकिस्तानका दुई÷दुई टिम फाइनलको यात्रा बनाउनबाट बञ्चित भएका हुन्।
विजेताले २६ हजार अमेरिकी डलर प्राप्त गर्नुका साथै पब्जी मोबाइल वर्ल्ड लिग इन्भिटेस्नलका लागि छनोट हुनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरुले अंक तालिकाका आधारमा पुरस्कार रकम प्राप्त गर्नेछन्।
लिग चरणको विजेता मंगोलियाको स्टलवार्ट इस्पोर्ट्स बनेको थियो।
प्रकाशित: २८ बैशाख २०८०, बिहीबार