Technology Khabar २७ बैशाख २०८०, बुधबार
काठमाडौं ।
नविकरण दस्तुर नतिरेर स्वतः खारेजीमा परेको स्मार्ट टेलिकम प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले अधिनमा लिएपछि कम्पनी संचालन गर्नका लागि तोकिएको व्यवस्थापन समूहको पहिलो औपचारिक बैठक बसेको छ।
मंगलबार बेलुका व्यवस्थापन समूहको बैठक बसेको र विभिन्न विषयमा छलफल भएको दूरसञ्चार प्राधिकरण स्रोतले जानकारी दिएको छ।
उक्त बैठकमा कम्पनीको व्यवस्थापन र संचालन कार्यहरुको बारेमा छलफल गरिएको थियो।
सो बैठकले कम्पनीका लगानीकर्ता र उनीहरुको दायित्वलगायतका बारेमा समेत छलफल गरेको बताईएको छ।
हाल कम्पनीलाई संचालन गर्न सकिने वा नसकिने भन्ने बारेमा अध्ययन भईरहेको हुँदा त्यसपछि मात्रै कुनै ठोस निर्णय लिन सकिने विषयमा कुराकानी भएको स्रोतले बताएको छ।
“हाल कम्पनीको अवस्था र संचालन हुनसक्ने/नसक्ने बारेमा अध्ययन हुँदैछ त्यो रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने हो। स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “अहिले नियमितरुपमा बैठक बस्ने र छलफल हुने गरेको भएपनि कुनै त्यस्तो विशेष भएको निर्णय छैन्।”
व्यवस्थापन समूहले कम्पनीको संचालक समूहको अधिकार हासिल गरेसँगै कम्पनीको अन्य कार्यहरु समेत हेर्नुपर्ने अवस्था आएको छ।
यसैबीच व्यवस्थापन समूहको बैठक बसेपनि उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिको रुपमा तोकिएका उपसचिव अनुप नेपाल भने उपस्थित भएका थिएनन्।
अर्थ र कानूनका प्रतिनिधि आएपनि सञ्चारका प्रतिनिधिले बैठकमा उपस्थित हुन इन्कार गरेको स्रोतले जानकारी दिएको छ।
यसअघि पनि नेपालले सो समूहमा मन्त्रालयको तर्फबाट खटाईएपनि बस्न अस्वीकार गरेका थिए। मन्त्रालयले उनको स्थानमा अन्य कर्मचारी प्रतिनिधि नपठाएपछि नेपाल नै मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका छन्। तर उनले स्मार्ट टेलिकमलाई अधिनमा लिने विषयको कुनैपनि बैठकमा बस्न अस्वीकार गर्दै आएका छन्।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार