
काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुले स्वदेश फर्कँदा दुईओटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ।
यसअघि वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल ल्याउन पाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलवार बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन्।
उनले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताईन्।
श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको उक्त सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो।*
स्मरणरहोस् हालसम्म वैदेशिक रोजगारीमा जानेहरुले आफूसँग फर्किँदा एउटा मात्र मोबाइल फोन ल्याउन पाउने कानूनी प्रावधान छ। सोही कारण सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न खोज्दा चर्को विरोध भएको थियो।
त्यसबेला सरकारले हतारमा एमडीएमएस लागू गर्ने निर्णय फिर्ता लिएको थियो।अब भने सरकारको निर्णयसँगै एमडीएमएस लागू हुने भएको हो।
प्रकाशित: २६ बैशाख २०८०, मंगलवार