लोक सेवाको डाटा हराएको घट्नामा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न सांसदको माग

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
लोक सेवाको डाटा हराएको घट्नामा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न सांसदको माग

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले लोक सेवा आयोगको डाटा हराएको घट्नामा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न माग गरेकी छन्।

उनले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै आयोगमा दरखास्त दिएका झन्डै ४ लाख आवेदकको डाटा हराएको बताएकी हुन्।

२०७९ मंसिर, पुस र माघमा आयोगमा दरखास्त दिएका आवेदकको डाटा हराएको र रिकभरका लागि २ महिनाभन्दा बढी प्रयास गर्दासमेत रिकभर नभएको उनले बताईन्। यस घट्नामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने उनको भनाई छ।

‘डाटा पुनर्प्राप्तिका लागि प्रयास गरेको २ महिनाभन्दा बढी हुँदा पनि रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले फेरि दरखास्त आह्वान गरेको छ,’ सांसद डाँगीले भनिन्।

सरकार र आयोग दुबैले डाटा सुरक्षित राख्न नसकेको उनको भनाइ छ।

“विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटासमेत सुरक्षित राख्न सकिरहेको छैन,” उनले भनिन्, “लोक सेवा आयोगजस्तो जिम्मेवार निकायले डाटा सुरक्षित राख्न नसक्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु र पुनः फारम भर्न लगाउनु यो कति हदसम्मको लापरवाही हो ?”

उनले सरकार र आयोगलाई युवाको भविष्यमाथि खेलवाड नगर्न पनि आग्रह गरेकी छन्।

डाटा रिकभर नभए जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्नसमेत उनले माग गरेकी छन्।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार