नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

काठमाडौं ।

गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन्।

चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म स्याटेलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए। उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए। उनले सन् २०२४ मा नेपालले स्याटेलाइट बनाउने तयारी गरेको बताए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा. हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नुपर्नेमा जोड दिए। उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नु पर्ने बिचार व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए। उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए। उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे। उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए।

कार्यक्रममा डा. बोधराज सुवेदी, डा. कृष्ण सापकोटा, डा. असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरुले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...