
काठमाडौं ।
चिप डिजाइनर क्वालकमले इजरायलको अटोटकलाई किन्ने भएको छ। क्वालकमले सोमबार अटोटकलाई किन्ने बताएको रोयटर्सले उल्लेख गरेको छ। अटोटकले सवारी दुर्घटना रोक्नका लागि टेक्नोलोजीमा प्रयोग हुने चिपहरु बनाउने गर्छ।
अमेरिकी फर्म क्वालकमले आफ्नो सवारी व्यवसायलाई आक्रमक रुपमा अघि बढाउन खोजिरहेको छ।
बढ्दो इलेक्ट्रिक सवारी र कारहरूमा अटोमेटिक फिचरका कारण अटोमेकरहरूले प्रयोग गर्ने चिपहरूको संख्या बढ्दै गइरहेको छ। चिपमेकरका लागि अटोमोटिभ बजार प्रमुख क्षेत्रको रुपमा विकास भइरहेको छ।
अटोटकले सडक सुरक्षा सुधार गर्न मानव र चालकविहीन सवारी साधनहरूका लागि भेइकल–टु–एभरिथिङ (भी२एक्स) सञ्चार प्रविधिमा प्रयोग हुने समर्पित चिपहरू बनाउँछ।
‘हामीले भी२एक्स अनुसन्धान, विकास र परिनियोजनमा सन् २०१७ देखि लगानी गर्दै आएका छौं र विश्वास गर्छौं कि अटोमोटिभ बजार परिपक्व हुँदै जाँदा, उन्नत सडक प्रयोगकर्ता सुरक्षा, साथै स्मार्ट यातायात प्रणालीहरूको लागि एक स्ट्यान्डअलोन भी२एक्स सुरक्षा आर्किटेक्चर आवश्यक हुनेछ,’ अटोमोटिभ, क्वालकम टेक्नोलोजी वरिष्ठ उपाध्यक्ष नकुल दुग्गलले विज्ञप्तिमा भने।
क्वालकमले गत वर्ष आफ्नो अटोमोटिभ व्यवसाय ‘पाइपलाइन’ बढेर ३० बिलियन अमेरिकी डलर पुगेको बताएको थियो। यो जुलाईको अन्त्यमा भएको घोषणा पछि १० बिलियन अमेरिकी डलर भन्दा बढी हो।
कम्पनीले वृद्धिको श्रेय कार निर्माताहरू र उनीहरूका आपूर्तिकर्ताहरूले प्रयोग गर्ने स्न्यापड्रागन डिजिटल चेसिस उत्पादनलाई दिएको थियो। स्न्यापड्रागन डिजिटल चेसिसले असिस्ट र अटोनोमस ड्राइभिङ टेक्नोलोजी, साथै इन-कार इन्फोटेनमेन्ट र क्लाउड कनेक्टिभिटी प्रदान गर्न सक्छ।
क्वालकमले सोमबार आफ्नो स्न्यापड्रागन डिजिटल चेसिस उत्पादन पोर्टफोलियोमा अटोटकको समाधानहरू समावेश गर्ने बताएको छ। तर सम्झौताको वित्तीय बारे विस्तृत रूपमा भने जानकारी दिएको छैन।
यो अधिग्रहण कम्पनीको यूनिट क्वालकम टेक्नोलोजी मार्फत गरिनेछ।
प्रकाशित: २६ बैशाख २०८०, मंगलवार