
काठमाडौं ।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा करिब १२ हजार ई-रिक्सा सञ्चालनमा रहेको अनुमान छ। तर नेपालगञ्ज उपमहानगरपालिकाले पटक पटक दर्ताका लागि सूचना जारी गरेपछि हालसम्म करिब दुई हजार रिक्सा मात्रै दर्तामा आएका छन्।
नगरभित्र अव्यवस्थित रूपमा ई- रिक्सा चल्न थालेपछि त्यसको व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ई-रिक्सा समेतीकरण अभियान सुरु गरेको छ । नेपालगञ्जको गणेशमान चोकबाट आइतबारदेखि सुरु भएको अभियान जेठ १० गतेसम्म चल्ने नगर प्रमुख प्रशान्त विष्टले बताए।
उनले भने, “बिनादर्ता र जथाभाबी ई-रिक्सा सञ्चालन भइरहँदा जोखिम बढेको छ भने व्यवस्थापनमा समेत असहजता उत्पन्न भएको छ। सबै ई-रिक्सा दर्ता गरौँ तस्बिरसहितको बालकको विवरण राख्ने र चालकलाई आवश्यक तालिम पनि उपलब्ध गराइने छ।”
सचेतना अभियान अन्तर्गत चालक अनुमतिपत्र भए/नभएको, ई-रिक्सामा साइड सिसा राखे/नराखेको, एक साइडमा डन्डी हाले/नहालेको रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारे/नओसारेको, रातोलाई आफूखुसी कालो बनाएर अवैध ढङ्गले चलाए/नचलाएको हेड लाइटको अबस्थालगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख कमरुद्धिन राईले नेपालगञ्ज नगर क्षेत्रमा आवश्यक मापदण्ड र नीति बनाई ई-रिक्सा व्यवस्थापनको पहल अघि बढाइएको बताए। दर्ता प्रक्रियामा आएपछि पार्किङ र अनुमति योजनाबद्ध हिसाबले अघि बढाइने उनको भनाइ छ। उपमहानगरपालिकाले नगर प्रहरीसहित ट्राफिक प्रहरी र नेपाल प्रहरीको सहकार्यमा अभियान सुरु गरेको हो। गोरखापत्रबाट
प्रकाशित: २५ बैशाख २०८०, सोमबार