सोमबार बिहानदेखि काठमाडौं महानगरपालिका भित्र तार व्यवस्थापन शुरु गर्दै आइस्पान

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
सोमबार बिहानदेखि काठमाडौं महानगरपालिका भित्र तार व्यवस्थापन शुरु गर्दै आइस्पान
पोलमा चढेर तार व्यवस्थापन गर्दै सेवा प्रदायकका प्राविधिकहरु। फाइल तस्विर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले सोमबार बिहानदेखि काठमाडौं महानगरपालिका भित्रका विभिन्न क्षेत्रहरुमा तार व्यवस्थापनको कार्य शुरु गर्ने भएको छ।

आइस्पानले तार व्यवस्थापनको बारेमा आज बिहान काठमाडौं महानगरको टोलीसँग छलफल गरेको छ जसमा नगर प्रहरी र काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकारीहरुसहित सहभागी रहेका थिए।

आइस्पानकाअनुसार महानगरसँगको सहकार्यमा आइस्पान र नेपाल दूरसञ्चार प्राधिकरणको संयोजनमा सोमबार बिहानदेखि पहिलो चरणमा माइतीघरदेखि एयरपोर्टसम्म र न्यूरोडदेखि असनसम्म तार व्यवस्थापन गर्ने भएको आइस्पानका सीईओ सुभाष खड्काले जानकारी दिए।

“आज विभिन्न निकायहरुसँग छलफल गरेका छौं र सोमबारदेखि तार व्यवस्थापनको काम शुरु गर्नेछौं। यसको लागि हामीले कार्यबिधी बनाएर काम गरिरहेका छौं,” सीईओ खड्काले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार तार व्यवस्थापनको लागि आइस्पानको पहलमा सबै सेवा प्रदायकहरुसँग घनिभूत छलफल भएको छ र सबै सेवा प्रदायकहरुले आफ्ना प्राविधिक टिमको सहयोगमा तार व्यवस्थापन शुरु गर्ने भएका छन्।

यसका साथै सेवा प्रदायकहरुले आफूले शुरु गरेको तार व्यवस्थापनको कार्यको बारेमा प्रत्येक साता समिक्षा गर्ने र त्यसमा सुधार गर्दै जाने भएका छन्।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...