
काठमाडौं ।
नेपाल टेलिकमले गण्डकी प्रदेशको पोखरा र मधेश प्रदेशको वीरगन्जमा फाइभजी परीक्षण सुरु गरेको छ।
पोखरा र वीरगन्जमा फाइभजी उपकरण जडान गरेर टेलिकमका प्राविधिकहरुले आन्तरिक रुपमा नेटवर्क परीक्षण सुरु गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
पोखरा र वीरगन्जमा करिब ४ हप्ता अघि नै नेपाल टेलिकमको कार्यालयमा फाइभजी उपकरण जडान गरेर आन्तरिक परीक्षण सुरु गरिएको हो।
‘३ ओटा प्रदेशको ४ स्थानमा फाइभजी जडान गरिएको छ। बाँकी ४ ओटा प्रदेशका लागि पनि फाइभजी उपकरण आउने क्रममा छ,’ प्रवक्ता अधिकारीले भने, ‘उपकरण आएपछि बाँकी ४ प्रदेशमा पनि फाइभजी उपकरण जडान गरेर परीक्षण सुरु गरिनेछ।’
कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा फाइभजी नेटवर्क जडान हुन बाँकी छ। पहिलो चरणमा ७ ओटै प्रदेशमा फाइभजी नेटवर्क जडान गर्ने टेलिकमको योजना छ।
टेलिकमले यस अघि काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी उपकरण जडान गरेर परीक्षण सुरु गरिरहेको छ। यी दुई स्थानमा २०७९ कार्तिकदेखि नै फाइभजी उपकरण जडान गरेर परीक्षण सुरु गरिएको थियो।
तत्कालिन समयमा टेलिमकले अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि फाइभजी सेवा उपलब्ध गराउने बताएको थियो। तर आन्तरिक तयारी नपुगेको भन्दै तत्कालिन समयमा फाइभजी सेवा सुरु हुने सकेको छैन्।
त्यसपछि टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर गत माघ २२ गतेदेखि औपचारिक रुपमा फाइभजी सेवाको परीक्षण सुरु गर्ने बताएको थियो। तर फाइभजी सपोर्ट गर्ने डिभाइसको उपलब्धता कम हुँदा सेवा सुरु गर्ने कार्यक्रम स्थगित गरिएको थियो।
अहिले काठमाडौं सहित पोखरा र वीरगन्जमा पनि फाइभजी उपकरण जडान गरेर आन्तरिक परीक्षण सुरु हुँदा पनि टेलिकमले आमसर्वधाणरणले प्रयोग गर्न सक्ने गरी सेवा उपलब्ध गराउने समयसीमा तोक्न सकेको छैन।
‘आन्तरिक परीक्षण तत्काल सकिँदैन। फाइभजीको प्राविधिक पक्षको हरेक प्यारामिटर अध्ययन गर्नु र बुझ्नुपर्ने हुन्छ,’ अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘डाटा चलाएर मात्र हेर्ने हैन। यसका लागि केही समय लाग्छ।’
जीएसएम प्रविधि अन्तर्गत हाल सञ्चालमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रुपमा नै फरक आर्किटेक्चरबाट सञ्चालन हुन्छन्।
भविष्यमा फाइभजीलाई व्यावसायिकरुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरहरु मिल्दो हुने वा नहुने, स्तरोेन्ती गर्नु पर्ने/नपर्ने, विस्थापन गर्नु पर्ने/नपर्ने लगायत विश्लेषण गर्ने कार्य भइरहेकाले पनि समय लागेको उनको भनाई छ।
प्रकाशित: २४ बैशाख २०८०, आईतवार