इन्टरनेटको तार व्यवस्थापन बारे दूरसञ्चार प्राधिकरण गंभिर, पूर्वाधारमा क्षति पुर्याए कारबाही गर्ने चेतावनी

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
इन्टरनेटको तार व्यवस्थापन बारे दूरसञ्चार प्राधिकरण गंभिर, पूर्वाधारमा क्षति पुर्याए कारबाही गर्ने चेतावनी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेट लगायतका तारहरु सडक किनारका पोलहरुमा व्यवस्थित गर्ने सम्वन्धमा विभिन्न संचार मध्यममा प्रकाशित समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

यसका साथै प्राधिकरणले तार काटने र दूरसञ्चार पूर्वाधारमा क्षतिपुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने चेतावनी दिएको छ।

नियामक निकाय प्राधिकरणले दशकौंदेखि टाँगीएका र सेवा प्रवाह भईरहेको तार एकै पटक व्यवथापन गर्न कठिनाई हुने साथै दूरसंचार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न कार्यहरु अगाडी बढाइएको जानकारी समेत दिएको छ।

दूरसञ्चार प्राधिकरणले सूचनामार्फत तार व्यवस्थापन गर्न निम्न कामहरु गरिरहेको समेत उल्लेख गरेको छ।

१। दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको छ।

२। दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको छ।

३। अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको छ।

प्राधिकरणले प्राथमिकताको आधारमा अन्य रुटमा समेत योजना बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने बताएको छ।

“साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सेवाहरु अवरुद्ध हुन जाने र यसको पूर्वाधारमा क्षतिपुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने,” सूचनामार्फत स्पष्ट पारेको छ।

नियामकले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्न र नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्याईदिनु हुन समेत अनुरोध गरेको छ।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...