
काठमाडौं ।
दार्चुलामा सञ्चारको क्षेत्रमा पछिल्लो समय ठूलो परिवर्तन भएको छ। २०७५ सालसम्म नेपाल टेलिकमका १४ ओटा टावर रहेकामा हाल जिल्लाभरी ३० ओटा टावर सञ्चालनमा छन्।
सञ्चालनमा रहेका ३० ओटा टावरमध्ये २५ ओटामा फोरजी सेवा विस्तार भइरहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। स्काई फेजआउट गरेर छाङरुबाहेक सबै टावरमा जीएसएम (नमस्ते) सेवा विस्तार गरिएको छ। छाङरुमा मात्रै स्काई रहेको र त्यो पनि चालु आर्थिक वर्षभित्रै विस्थापित हुने उनले बताए।
हालसम्म एडीएसएल इन्टरनेट सेवा मात्रै भएकाले जिल्ला सदरमुकाम खलङ्गामै इन्टरनेटको गति कमजोर रहेको सेवाग्राहीको गुनासो छ। दुर्गम गाउँ व्याँस गाउँपालिका–१, टिङ्कर अहिले पनि सञ्चारको पहुँचबाहिर रहेको छ।
टिङ्करमा रेडियो लिङ्क पुर्याउन सकिने अवस्था नभएकाले सेटेलाइटमार्फत टुजी बीटीएस जडान गरेर सेवा गर्ने लक्ष्य रहेको उनले बताए ।
भौगोलिक विकटता र विद्युतीकरण नहुँदा सञ्चार सेवा विस्तार तथा क्षमता अभिवृद्धिमा समस्या भइरहेकाले विद्युत्को पहुँच पुगेको ठाउँमा फोरजी सेवा धमाधम विस्तार भइरहेको बताइएको छ। दार्चुलाका प्रायः ग्रामीण बस्तीमा इन्टरनेट सेवाप्रतिको आकर्षण बढ्दो गतिमा रहेको छ। गोरखापत्रबाट
प्रकाशित: २३ बैशाख २०८०, शनिबार