आज ‘आइसिटी डे’ मनाईँदै, सार्वजनिक सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेको सरकारको भनाई

  • Technology Khabar | १९ बैशाख २०८०, मंगलवार
आज ‘आइसिटी डे’ मनाईँदै, सार्वजनिक सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेको सरकारको भनाई

काठमाडौं ।

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्षको मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो।

नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना दिवसको अवसर पारेर नेपालमा  सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो।

यसैबीच छैटौं सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त भएको जनाए।

“यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकारी प्रतिवद्ध रहेको छ,” सन्देशमा भनिएको छ।

उनले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने र दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि लागि सबै जिल्लाहरुमा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको जानकारी दिएका छन्।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका भन्दै सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रुपमा स्थापित हुन पुगेको उल्लेख गरीन्।

“यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ। सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको छ। नागरिकले आर्थिक कारोवारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको छ। यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको छ,” सञ्चारमन्त्रीको सन्देशमा भनिएको छ।

उनले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको बताईन्। साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको र सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्ने उल्लेख गरीन्।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार