
काठमाडौं ।
नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोरजी सेवा सञ्चालनमा ल्याएको छ। टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोरजी सेवा सञ्चालनमा आएको हो।
नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजीआङ्मु लामाले लामो समयदेखि बरगाउँमा टु जी सेवा सञ्चालन भएको भएपनि फोर जी सेवा बल्ल सञ्चालनमा आएको बताए।
एक वर्ष अगाडी नै बरगाउँ क्षेत्रमा सो सेवा सञ्चालन हुने भनिएको भएपनि उपकरण आउन ढिलाइ भएको कारण अहिले आएर सो सेवा सञ्चालनमा आएको हो।
टावरका लागि आवश्यक पर्ने उपकरण, सोलार प्यानल, ब्याट्री र जडान गर्ने प्राविधिक हेलिकोप्टरबाट ढुवानी भएर तीन दिन अगाडी आएको थियो। फोरजी सेवाका लागि आवश्यक उपकरण जिल्लामा आएसँगै प्राविधिक टोली टावर भएको स्थानमा गएर जडान गर्ने कार्य पुरा गरे लगत्तै सेवा सञ्चालनमा आएको हो।
अब बरगाउँ, तोर्पा, लिमाटाङ, ठेहे, दोजाम, बैजिबाडा, कुम्लिक र ग्याग्रु सिमकोट गाउँपालिकाका क्षेत्रमा इन्टरनेट सेवा सुचारु भएको छ भने खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ को बस्तीमा पनि यो सेवा विस्तार भएको छ।
बरगाउँको इन्टरनेट सेवा सुचारु भएपछि अब ती क्षेत्रका स्थानीयलाई स्वास्थ्य चौकी र वडामा जडान गरिएको वर्ल्डलिङ्कको इन्टरनेट सेवा नभए पनि इन्टरनेटको पहुँचमा सहज भएको छ। यसबाट पन्द्रह सय भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। नयाँ जडान गरिएको कारण इन्टरनेटको गति पनि उच्च रहेको सेवाग्राहीले बताए।
प्रकाशित: १८ बैशाख २०८०, सोमबार