डिजिटल बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
डिजिटल बोर्डबाट पठनपाठन सुरु

काठमाडौं ।

केही वर्ष पहिलेसम्म पुराना र जीर्ण विद्यालयमा थोरै विद्यार्थी र केही मात्र शिक्षकको उपस्थितिमा जेनतेन पठनपाठन हुने गरेको बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा अहिले डिजिटल बोर्डबाट पठनपाठन सुरु गरिएको छ।

शिक्षाको क्षेत्रमा जिल्लामै सर्वाधिक पछाडि परेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरेर पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएपछि शिक्षाका लागि गरिएको प्रयास स्वरूप सानो समयमै प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन डिजिटल बोर्ड जडान गर्ने अभियान सुरु गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। सो अभियानअन्तर्गत सबैभन्दा पहिले वडा नम्बर–५, जमुनाहमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा डिजिटल बोर्ड जडान गरेर पठनपाठन सुरु गरिएको उनले जानकारी दिए।

अध्यक्ष शाहले प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाल एक विद्यालयमा डिजिटल बोर्ड जडान गरिएको जनाउँदै बिस्तारै सबै विद्यालयमा जडान गरिने योजना रहेको प्रस्ट पारे।

नरैनापुर गाउँपालिकाका २१ वटै सामुदायिक विद्यालयमा डिजिटल बोर्डको प्रयोग हुने भएको छ। शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढ्ने उद्देश्यले डिजिटल बोर्ड जडान गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। पहिलो चरणमा जडान गरिएका बोर्डको प्रभाव हेरेर मात्र थप सबै कक्षा कोठामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना रहेको उनको भनाइ छ।

सो डिजिटल बोर्ड करिब छ लाख ५० हजारमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत खरालले भने, “गाउँपालिकाले सबैभन्दा बढी शिक्षामा लगानी गरेको छ, आगामी दिनमा सबै विद्यालयमा डिजिटल बोर्डको माध्यमबाट अध्यापन हुनेछ।”

प्रविधिको उच्चतम प्रयोग गरेर डिजिटल बार्डको माध्यमबाट अध्यापन गराउँदा विद्यार्थी आकर्षित हुने र शिक्षाको उपलब्धिमा वृद्धि हुने गाउँपालिकाले जनाएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक सज्जाक खाँले परम्परागत बोर्डमा लेखेर पठनपाठन हुने विद्यालयमा डिजिटल बोर्ड जडान भएपछि पढाइमा विद्यार्थीहरूको आकर्षण बढ्ने बताउनुभयो। सानो समयमै शिक्षा र भौतिक विकासको क्षेत्रमा पालिकाले ठूलो फड्को मारेको स्थानीय नागरिकको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार