दूरसञ्चार सेवा प्रभावकारी र गुणस्तरीय भएन: मुख्यमन्त्री शाह

  • Technology Khabar | १६ बैशाख २०८०, शनिबार

काठमाडौं ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।

मुख्यमन्त्री शाहले दूरसञ्चार सेवा प्रभावकारी नभएको, सबै ठाउँमा फोन सुनिने अवस्था नरहेको र इन्टरनेट चलाउन खोज्दा डाटा नचल्ने गरेको बताए।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको दूरसञ्चार सेवाको बर्तमान अवस्था र गुणस्तर विषयमा
सेवा प्रदायक र सरोकारबालासँगको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरे।

उनले दूरसञ्चार सेवा प्रभावकारी बनाउन स्थानीय तह पनि सहयोगी हुने विश्वास व्यक्त गर्दै सेवालाई गुणस्तरीय बनाउनुपर्ने बताए।

“दूरसञ्चार क्षेत्रमा विकास भएता पनि यस प्रदेशका दुर्गम क्षेत्रमा अहिले पनि इन्टरनेटको सेवा सुविधा पुग्न सकेको छैन”, मुख्यमन्त्री शाहले भने।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पिछडिएका क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गरेर फोन, इन्टरनेट सेवा सहज बनाउनुपर्नेमा जोड दिए। सहरमा बस्ने मात्र होइन दूरदराजमा बस्नेले समेत इन्टरनेटको सहज पहुँच राख्न सक्नुपर्ने बताए।

कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेशका मुख्यसचिव नारायण प्रसाद शर्मा दुवाडी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनाल लगायतले धारणा राखेका थिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८ स्थानीय तहमध्येका अधिकांश तहका प्रमुखको सहभागिता रहेको थियो।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया